तेस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी विभूति शिक्षा सदनलाई
बारा
तेस्रो राष्ट्रपति रनिंग शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधी शनिबार राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन डुमरवानाले उचालेको छ ।
यही माघ ९ गतेबाट सञ्चालन भएको प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र २ काश्य पदकसहित राष्ट्रिय विभूति शिक्षा सदनले उपाधी उचालेको हो । यसैगरी नेपाल राष्ट्रिय नमुना मावि बकुलिया ६ स्वर्ण, ३ रजत र ३ कास्यसहित दोस्रो भएको छ भने नेपाल राष्ट्रिय नमुना मावि सिमरा, ४ स्वर्ण, ६ रजत र ५ कास्यसहित तेस्रो हुन सफल भएको छ ।
प्रतियोगिताको समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रममा पूर्वमन्त्री एवं बारा क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठ , जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले गरेका हुन् । जीतपुरसिमरा उपमहानगर वडा नं १४ स्थित जनता मावि रजघट्टामा सञ्चालन भएको राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता माघ ९ गतेदेखि सुरु भएको थियो ।
प्रतियोगितामा पालिकाभरिका ४१ विद्यालयका ९ सय ५७ छात्रछात्राले सहभागिता जनाएका थिए । जसमा २२ ओटा सामुदायिक विद्यालय र १९ ओटा संस्थागत विद्यालय रहेका थिए । प्रतियोगितामा भलिबल, कबड्डी, छात्रा फुटबल, छात्र क्रिकेट, एथलेटिक्स, कराँते र तेकवान्डो गरी ७ खेल समावेश गरिएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा बारा ४ का संघीय सांसद किसान श्रेष्ठले स्थानिय तह, प्रदेश र सघीय सरकारले खेलाडीहरुलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउनु पर्ने बताएका छन् । संघीय सांसद श्रोष्ठले जीतपुर सिमरा उपमहानगरले विद्यालय तहदेखि खेलको जग बसाउने र खेलाडीहरुलाई प्रोत्साहन गर्ने काम गरेको बताएका छन् ।
खेलकुदमा लागेका विद्यार्थीहरु अनुशासनमा पनि अगाडी हुने भएकाले भोलीका दिनमा देशका लागि योग्य र सक्षम नागरिक उत्पादनमा समेत उपमहानगरले सहयोग पूर्याएको श्रेष्ठले जनाएका छन् । सो कार्यक्रममा उपमहानगरका नगरप्रमुख राजन पौडेलले चालु आर्थिक वर्षमा कुल बजेटको १ दशमलव ५ प्रतिशत बजेट खेलकुद क्षेत्रमा छुटएको बताएका छन् ।
नगरप्रमुख पौडेलले अगामाी आर्थिक बजेटमा विद्यालय तहमा हुने खेलकुदका कार्यक्रमलाई अझ प्रोत्साहन गरेर लैजाने बताए ।
उपमहानगरले विद्यालय तहका १८ वर्ष मुनिका करिव ४१ वटा विद्यालयबाट ९५७ जना विद्यार्थीहरु बिच प्रतिष्पर्धा भएको थियो ।
सो खेलकुद प्रतियोगिताको समापन कार्यक्रममा संविधान सभा सदस्य जयराम दाहाल, मधेस प्रदेश सभा सांसद देवनारायण चौधरी, उपप्रमुख भोला प्रसाद अधिकारी, नेपाली काँग्रेसका नगर सभापति छवी शर्मा, एमालेका झपेन्द्र बराल ,नमुना मावि सिमराका प्रधानाध्यापक शंकरप्रसाद आचार्य, संस्थागत विद्यालयका तर्फबाट लोटस एकेडेमीका प्रधानाध्यापक रामप्रसाद अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।