
३ असार । संखुवासभाको हेवा खोलामा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका छन् ।
चैनपुर नगरपालिका-४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनाका १६ जना कामदार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।
निर्माणाधीन सुपर हेवा हाइड्रोमा १९ जना कार्यरत रहेकोमा १६ जना बेपत्ता भएको र तीनको उद्धार गरिएको डीएसपी गोदारले बताए । ‘निर्माणाधीन हाइड्रोमा १९ जना कार्यरत थिए, १६ जना बेपत्ता भएका छन् । तीन जनाको उद्धार भएको छ,’ डीएसपी गोदारले भने, ‘अरुको अवस्था थाहा हुनसकेको छैन ।’
उद्धार गरिएका तीन जनालाई उपचारका लागि चैनपुर लगिएको छ ।
बाढीको क्षतीको थप विवरण आउन बाँकी छ ।
शनिबार राति नै हेवा खोलामै आएको बाढीले पाँचथरको फिदिममा पाँच जना बेपत्ता भएका छन् भने पुलहरू बगेका छन् ।पाँचथरमा हेवा खोलामा आएको बाढीमा परेर पाँच जना बेपत्ता भएका छन् ।
शनिबार राति हेवा खोलामा आएको बाढीमा परी पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हरि खतिवडाले जानकारी दिए ।
बेपत्ता हुनेहरूमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम-१० का सन्जोग लोवा, फिदिम-४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष, एलिसा माझी र फिदिम-४ हेवा खोलाबाट एक जना रहेका छन् ।
यस्तै, फालेलुङ-३ खोलाघारी सेपीमा पहिराले पुरेका एक बालकको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिए ।
बाढीले ठूलो भौतिक क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ । तर, पूरै विवरण आउन बाँकी रहेको डीएसपी खतिवडाले बताए ।
बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ । मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ जोड्ने हेवाखोला पुलसमेत बगेको छ ।पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको डीएसपी खतिवडाले बताए ।
तमोर करिडोरको ‘बेलीब्रिज’ पनि बाढीले बगाएको छ ।फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको छ ।
बाढीले याङ्वरक गाउँपालिका-३ र २ लगायत विभिन्न ठाउँमा ९ वटा घर बगेको जानकारी आएको प्रहरीले जनाएको छ । श्रोत : onlinekhabar

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८