बारा । जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले सामाजिक सञ्जालमा आफू विरुद्ध जथाभाबी लेख्ने पत्रकार इन्दिप कोइराला सहित सेयर, कमेन्ट र लाईक गर्ने विरुद्ध साइवर अपराधमा मुद्दा दर्ता गरेका छन् ।
उपमहानगरका पूर्व नगरप्रमुख डा.कृष्ण पौडेलको निधनलाई लिएर निजगढ नगरपालिका वडा नं ८ निवासी इन्दिप कोइरालाले पौडेलको निधनको पछाडि हालका नगरप्रमुख राजन पौडेल र सिङ्गो माओवादी केन्द्र यसको जिम्मेवार हो भन्दै सामाजिक सञ्जालमा स्टाट्स लेखेका थिए । पत्रकार कोइराला नेकपा एमाले निकट भातृसंगठन प्रेस चौतारीमा आबद्ध रहनुको साथै विगतमा एभिन्युज टेलिभिजनका काम गरेका थिए ।
‘पूर्व मेयर पौडेलको निधन होइन हत्या हो, राजनीतिक हत्या हो, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) यसको प्रमुख जिम्मेवार हो, अहिलेका मेयर यसका योजनाकार हुन्’ सामाजिक सञ्जालमा कोइरालाले लेखेको पोस्टमा उल्लेख छ, ‘तपाई नगरप्रमुख हुनु नै तपाईँको गलत निर्णय थियो, तपाईँलाई यहाँसम्म पु¥याउने दलाल नेता, फटाहा चोर पत्रकार र विरोधी सबैलाई पाप लाग्छ, यी सबैले रुनुपर्छ ।’
नगरप्रमुख पौडेलले दिएको साइबर अपराधको उजुरीमा जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार कोइरालाको खोजी सुरु गरेको छ । बाराका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले नगरप्रमुख पौडेलले दिएको उजुरीमा कारबाही प्रक्रिया अगाडि बढेको बताएका छन् । कोइरालाको स्ट्याटस हालसम्म १० जनाले सेयर गरेका छन् ।
सो स्ट्याटस सेयर गर्नेहरूमा केही व्यक्ति विदेशमा रहेका छन् । सो स्टाट्स लेख्ने कोइरालासहित सेयर गर्ने झन्डै आधा दर्जन व्यक्ति विरुद्ध विद्युतीय कारोबार ऐन २०६३ विरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका छन् । नगरप्रमुख पौडेलले दिएको जाहेरीमा ५ वर्षसम्म कैद र १ लाखसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ । जीतपुर सिमराका पूर्व नगरप्रमुख पौडेल बिहीबार साँझ घरमा मृत अवस्थामा भेटिएका थिए । पोस्टमार्टम रिपोर्टमा पौडेलको मृत्यु उच्च रक्तचापका कारण भएको परिवारजनले बताएका छन् ।
नगरप्रमुख राजन पौडेलले पूर्व नगरप्रमुख स्व.पौडेल र उनको परिवारसँग आफ्नो सम्बन्ध अत्यन्तै सौहार्दपूर्ण र सम्मानजनक भएको बताएका छन् । ‘हामी फरक पार्टीको भए पनि व्यक्तिगत सम्बन्ध असाध्यै राम्रो थियो, उपमहानगरका धेरै विषयमा मैले उहाँको सरसल्लाह लिएर अगाडि बढ्थे’ नगरप्रमुख पौडेलले भने, ‘पूर्व नगरप्रमुखको मृत्यु भएको केही घण्टामै अराजक शैलीमा गम्भीर आरोप लगाएर पत्रकारको फेसबुक पेजबाट यस्तो स्ट्याटस आएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएरै मैले सामाजिक सञ्जालमा पोस्ट गर्ने, सेयर गर्ने, लाईक र कमेन्ट गर्नेहरू सबै विरुद्ध जाहेरी दिएको हुँ’ मेयर पौडेल भने ।
‘पूर्व नगरप्रमुख कृष्ण पौडेलको निधनमा हालका नगरप्रमुख योजनाकार भन्दै व्यक्तिगत चरित्रहत्या गर्ने ढङ्गले गम्भीर दोष लगाउनु एकदमै गैह्र जिम्मेवार र निन्दनीय कार्य हो’ भन्दै माओवादी केन्द्र जिल्ला कार्यसमिति बाराले प्रेस विज्ञप्ति जारी गरेको छ । ‘स्ट्याटसमा नेतालाई दलाल र पत्रकारलाई चोर भनी उल्लेख गर्नुले कोइरालाको धरातल स्पष्ट हुन्छ’ कोइराला पेसाले विगतमा पत्रकार थिए । माओवादी केन्द्रले जारी गरेको विज्ञप्तिमा कोइरालाको कार्यशैलीलाई लिएर पत्रकार महासंघ बाराको पनि गम्भीर ध्यानाकर्षण हुनुपर्ने जनाएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८