काठमाडौँ । यादव भट्टराईको निर्देशन रहने ‘झिल्को’ फिल्मको शुभ–मुर्हूत गरिएको छ । बिहीबार साँझ गुह्येश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको शुभ–मुर्हूत गरिएको थियो । सो मुर्हूतमा कलाकार तथा रंगपत्रकारहरुको बाक्लै उपस्थिति रहेको थियो ।
कार्यक्रममा फिल्मका निर्देशक भट्टराईले ‘झोला’ र ‘भोर’ पछि तेस्रो चलचित्रको रूपमा ‘झिल्को’ निर्माण गर्न लागेको बताए । ‘विगत डेढ दशकदेखि अध्ययन र लेखनमा रहेको फिल्म अहिले निर्माण गर्न हुन लागेको हो’, भट्टराईले भने ‘सुविधाको नाममा वर्तमान परिवार र समाज गम्भीर दुष्चक्रमा फसेको कथा फिल्मले उठाउनेछ ।’ एउटा राम्रो अर्थपूर्ण फिल्म निर्माणका लागि ‘झिल्को’ बनाउन लागेको भट्टराईको धारणा रहेको थियो ।
फिल्ममा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल लगायतको अभिनय रहनेछ । रंगकर्मी सुनिलले १३ वर्षपछि यसै फिल्म मार्फत अभिनयमा कमब्याक गर्न लागेका हुन् । उनले पछिल्लो समय ‘आचार्य’ फिल्म अभिनय गरेका थिए । फिल्म २०११ मा रिलिज भएको थियो ।
कलाकार भोलाराज सापकोटाले फिल्मको कथा मन परेकोले ‘झिल्को’ अभिनय गर्न लागेको बताए । उनले अहिलेसम्म निर्माण भएका फिल्ममा यो पृथक हुने विश्वास समेत व्यक्त गरे । फिल्मको छायाङ्कन माघ २२ गतेदेखि सुरु हुने भएको छ । फिल्म काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन हुनेछ ।
थुप्रै म्युजिक भिडियोको निर्देशनपछि भट्टराईले ‘झोला’ मार्फत फिल्म निर्देशनमा डेब्यु गरेका थिए । यो फिल्म सन् २०१४ को ओस्कार अवार्डका लागि समेत नेपालबाट सिफारिस भएको थियो ।
‘झिल्को’ को पटकथा तथा संवादलाई भट्टराई ले अरुणदेव जोशी र देवव्रतसँग मिलेर तयार पारेका छन् । दीपक बज्राचार्यको छायाङ्कन, चण्डीप्रसाद काफ्लेको संगीत फिल्ममा रहनेछ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८