
उपमहानगरले चालु आवमा खेलकुद क्षेत्रमा ३ करोड ५५ लाख ५० हजार ४३५ रुपैया र शिक्षा क्षेत्रमा ५० करोड ५४ लाख २६ हजार २२० रुपैयाँ बजेट विनियोजन गरेको छ ।
बारा / जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले उपमहानगरले खेलकुद क्षेत्रमा लगानी गरे अनुसारको परिणाम पाउन नसकेको बताएका छन् । उपमहानगरले मंगलवारदेखि आयोजना गरेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले खेलकुद क्षेत्रमा राम्रो लगानी भएको तर त्यो अनुसारको प्रतिफल भने प्राप्त गर्न नसकेको र आम नागरिकहरुले पनि अनुभुती गर्न नसकेको बताएका छन् ।
‘हामीले खेलकुद क्षेत्रलाई अगाडी बढाउने हो भने विद्यालय तहका खेलकुदहरुलाई व्यवस्थित ढंगले अगाडी बढाउनुपर्छ, हाम्रा लगानीहरु विद्यालय तहमा केन्द्रीत हुनुपर्छ’ नगरप्रमुख पौडेलले भने ‘विद्यालय खेलकुदका लागि १५ लाख बजेट छुट्याउदा धेरै सोचको हुन्छौ तर अन्य खेलकुदमा लाखौ लाख बजेटहरु खर्च भईरहेको हुन्छ’
नगरप्रमुख पौडेलले कार्यक्रममा सहभागी सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुलाई राष्ट्रिय÷अन्तराष्ट्रिय प्रतियोगितामा महत्व राख्ने खेलहरुलाई विद्यालय तहमा सञ्चालन गर्न सुझाव दिएका छन् । ‘अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेर विद्यालयमा ग्रासरुट खेलकुद कार्यक्रम सञ्चालन गर्न चाहन्छौ, यस्का लागि राष्ट्रिय खेलकुद परिषद्मा सुचिकृत भएका मान्यता प्राप्त खेलकुद संघहरुलाई म आवह्रन गर्न चाहन्छु’ पौडेलले भने ‘विद्यालय तहको खेलकुदमा तपाईहरुसँग सम्झौता गरेर काम गर्न हामी चाहन्छौ, तपाईहरुसँग सहकार्यको लागि आवह्रान गर्दछु’
उपमहानगरको १० लाख बजेटमा जीतपुर सिमरा वडा नं १४ स्थित जनता मावि कृषि प्राविधिक शिक्षालयले सञ्चालन गरेको खेलकुद प्रतियोगितामा २१ वटा सामुदायिक र १६ वटा संस्थागत विद्यालयका १८ वर्ष उमेर नपुगेका छात्र÷छात्रा सहभागी छन् । जस्मा २९४ छात्रा र ४११ जना छात्र रहेका छन् ।

माघ १३ गतेसम्म सञ्चालन हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा तेक्वान्दो कराँते, क्रिकेट, भलिबल, एथलेटिक्स, कवर्डी, फुटबल खेल हुनेछ । ७ प्रकारका खेलकुद प्रतियोगिता मध्ये किक्रेटमा छात्रहरु मात्रै र फुटबलमा छात्राहरु मात्रै सहभागी हुनेछन् भने अन्य खेलको हकमा छात्र, छात्रा दुवै सहभागी हुने खेलकुद सञ्चालनको जिम्मा लिएको जनता माविका प्रअ राजु अधिकारीले जनाएका छन् ।
उपमहानगरले चालु आर्थिक वर्षमा खेलकुद क्षेत्रमा ३ करोड ५५ लाख ५० हजार ४३५ रुपैया बजेट विनियोजन गरेको छ । जस्मा सबैभन्दा धेरै बजेट फुटबल क्षेत्रमा रहेको उपमहानगरले जनाएको छ । नगरप्रमुख पौडेलले आफु बिजयी भएर आएपछि विद्यालय शिक्षालाई गुणस्तरिय बनाउन खोज्दा धेरै अवरोध र असहयोगको सामना गर्नुपरेको गुनासो गरेका छन् ।
‘हामीले जीतपुर सिमरामा स्थानिय पाठ्यक्रम तयार पारेर लागु गर्न खोजेका छौ, यो वर्ष शिक्षक दरबन्दी मिलानका प्रकिया अगाडी बढाएको छ, यस्मा सहयोग गर्न सम्पुर्ण शिक्षक र शैक्षिक क्षेत्रका नेतृत्वलाई आग्रह गर्न चाहन्छु’ पौडेलले भने ‘अर्को विद्यालय घटुवा तथा विद्यालय समायोजनका कुरा छ, तथ्याकंहरु हेर्दा हाम्रा विद्यालयहरु एकदमै कमजोर छन्, कक्षा १२ सम्म पढाइ भएका केही विद्यालयहरुलाई कक्षा १० मा झार्नुपर्नेछ, १० सम्म पढाई हुने विद्यालयलाई कक्षा ८ मा र ८ सम्म पढाई हुनेलाई ५ मा झानुपर्ने अवस्था छ’ कार्यक्रममा नगरप्रमुख पौडेलले कमजोर विद्यालयहरुलाई समायोजन गर्दा शैक्षिक गुणस्तरमा योगदान पुग्ने र जनशक्तीहरुलाई प्रयोग गर्न सकिने बताए । उपमहानगरले माघ ७ गते सार्वजनिक सूचना जारी गरेर विद्यालय समायोजन तथा घटुवाको लागि आवश्यक सहयोग तथा समन्वय गरिदिन विद्यालयहरुलाई आवह्रान गरेको छ ।
सूचनामा कक्षा १ देखि ३ सम्म ४५ जना विद्यार्थी भएको विद्यालय, कक्षा १ देखि ५ सम्म ७५ जना, कक्षा ६ देखि ८ सम्म ४५ जना, ९ र १० मा ४० जना र १ देखि १२ सम्म ८० जना मात्रै विद्यार्थी भएका विद्यालय समायोजना तथा कक्षा घटुवा गर्ने जनाएको छ ।
उपमहानगरले गत आर्थिक वर्षमा विद्यार्थी कम भएको एउटा विद्यालयलाई जनता मावि प्राविधिक शिक्षालय रजघट्टामा समायोजन गरेको थियो । नगरप्रमुख पौडेलले एउटै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम र नेपाली माध्यममा पढाई हुदाँ जनशक्तीको व्यवस्थापनमा समस्या भएको बताएका छन् । ‘एउटै सामुदायिक विद्यालयमा एउटै कक्षामा १५ जना विद्यार्थी अंग्रेजी माध्यम र १५ जना नेपाली माध्यममा पढाउदा जनशक्ती व्यवस्थापन कसरी गर्ने भन्ने समस्या छ, सामुदायिक विद्यालयहरुले लिएको शुल्कको विषयमा बहसहरु उठिरहेका छन् तिनलाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफलको आवश्यकता छ’ पौडेलले भने
‘मुख्य कुरा माध्यमको भ्रमले पनि अभिभावक र विद्यालयहरुमा ठुलो समस्या सिर्जना भएको छ, त्यसको समाधानको लागि हाम्रो पालिका भित्र अंग्रेजी, विज्ञान, गणित विषयलाई अंग्रेजी माध्यमको रुपमा अगाडी बढाउने र अन्य विषय नेपाली माध्यममा पढाउने हिसाबले व्यवस्थापन गर्न जरुरी छ, होईन भने जनशक्ती व्यवस्थापन समस्या देखिएको छ’
पौडेल निर्वाचित भएर आएपछि उपमहानगमा शिक्षा क्षेत्रमा उल्लेख्य सुधारका प्रयासहरु भएका छन् । विद्यालय समायोजन, शिक्षक मिलान, स्थायी र योग्यता पुगेका शिक्षकलाई मात्रै प्रअको जिम्मेवारी तोक्ने, कक्षा ८ को जिल्ला स्तरिय परीक्षा केन्द्र फरक विद्यालयका गर्ने लगायतका काम भएका छन् । उपमहानगरभित्र चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा ५० करोड ५४ लाख २६ हजार २२० रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उपमहानगरको आयोजनाका आजदेखि सुरु भएको रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन समारोहमा पूर्वमन्त्री एवं संघिय सांसद ज्वालाकुमारी साह सहित संविधान सभा सदस्य मधु शाही, जितपुरसिमरा उपप्रमुख भोला प्रसाद अधिकारी, वडाध्यक्ष चयन मगर, कार्यपालिका सदस्य प्रभावती पास्वान, प्रलाहद साह लगायतको सभागिता रहेको थियो ।
कार्यक्रमका वक्ताहरुले विद्यालय स्तरमा खेलकुदलाई प्राथमिकता दिनु पर्ने धारण राखेका थिए । उनीहरुले बार्षिक रुपमा नभई विद्यालयहरुमा पठनपाठनसँगै नियमित खेलकुदका गतीविधि हुन पर्ने बताए । कार्यक्रम उद्घाटनका अवसरमा विद्यार्थीहरुले विभिन्न झाँकी, नृत्य समेत प्रस्तुत गरेका थिए । सो खेलकुद कार्यक्रमको सञ्चालन जनता माविका प्रअ राजु अधिकारीको गरेका हुन् ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८