काठमाडौँ । नेकपा एमालेको मधेस प्रदेश कमिटीले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको राजीनामा मागेको छ ।
सप्तरीको राजविराजस्थित मधेस कृषि विश्वविद्यालय भवनको शिलान्यास गर्ने क्रममा सोमबार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै एमालेले मुख्यमन्त्री यादवको राजीनामा माग गरेको हो ।
एमाले मधेस प्रदेश कमिटीले बुधबार एक विज्ञप्ति जारी गदै भनेको छ, ‘यी सबै घटनाले यो सरकारको नालायकीपन प्रस्ट्याउँछ । सरकारको आफ्नै भूमिकाले उसको अब सरकारमा बस्ने नैतिकता समाप्त भएको हाम्रो ठहर छ ।’
कृषि विश्वविद्यालय मधेस प्रदेश सरकारको मातहतमा हुने, त्यसको कुलपति मुख्यमन्त्री र सहकुलपति शिक्षा तथा संस्कृति मन्त्री हुने व्यवस्था रहेको छ ।
एमाले मधेस प्रदेश कमिटीले मन्त्रिपरिषद्का सदस्यहरु र गठबन्धन दलहरुकै सहमति लिन नसक्नु, सहकुलपति रहेका शिक्षा मन्त्रीले कार्यक्रम रोक्न लिखित निर्देशन गर्नु, मुख्यमन्त्रीकै उपस्थितिमा सहकुलपतिको विरोधका बाबजुद संघीय सांसद उपेन्द्र यादवबाट विश्वविद्यालयको शिलान्यास गराउनु मुख्यमन्त्री यादवको असक्षमता भएको जनाएको छ ।
शिलान्यासको विरोध गर्दा तत्कालीन शिक्षा मन्त्री एवं जनमत पार्टीका नेता महेश यादव र सत्ता पक्षका प्रदेश सांसदहरू नै प्रहरीबाट कुटिनुले लोकतन्त्रको उपहास भएको एमालेले ठहर गरेको कमिटिका अध्यक्षले बताए ।
विश्वविद्यालय भवन शिलान्यासमा विरोध जनाउँदै जनमत पार्टीले मधेस सरकार छाडि सकेको छ । भवनको शिलान्यास जसपाका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए ।
काठमाडौँमा जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत नेताहरु धोती पहिरन गरी सडकमा निस्किँदा मन्त्री अनिता साह लगायत गठबन्धनका नेता तथा सांसदलाई निषेधाज्ञा उल्लंघनको बहानामा पक्राउ गरेको घटनाप्रति पनि एमाले मधेस प्रदेश कमिटीले आपत्ति जनाएको छ ।
पहाडमा पनि खाना खादा, श्राद्ध, पूजा गर्दा धोती पहिरन गर्ने गरेको भन्दै अध्यक्ष मण्डलले धोती सबैको साझा पहिरन र आफ्नो पार्टीले धोती र टोपी दुवैको सम्मान गरेको बताए ।
गठबन्धनको आडमा सरकारले जनता भिडाउने, देशमा अराजकता मच्चाएर आफ्नो स्वार्थ सिद्ध गर्न लागेको यी घटनाहरूबाट पुष्टि भएको समेत उनले उल्लेख गरेका छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८