काठमाडौँ । काठमाडौँ उपत्यकामा चिसो बढ्दो क्रममा रहेता पनि आज (आइतवार) तराईमा भने केही राहत मिलेको छ।
विगत केही दिनदेखि क्रमशः घट्दै गएर न्यूनमत तापक्रम २.२ डिग्री सेल्सियसमा झरेको काठमाडौँको तापक्रम आज त्यसभन्दा पनि तल २.१ डिग्रीमा झरेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम २.१ डिग्री अभिलेख भएको जनाएको छ ।
महाशाखाका अनुसार आज सबैभन्दा कम जुम्लामा माइनस ४.९ र जोमसोममा माइनस ४.५ डिग्री रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज तरामा भने केही राहत मिलेको छ । उच्च बादल अर्थात् पातलो बादल (हाई क्लाउड) देखिएकाले तराईमा हुस्सुमात्रै रहेको तर बाक्लो कुहिरो नदेखिएकाले केही न्यानो महसुस भएको जनाएको छ।
।
यो हाई क्लाउडले पानी भने नपार्ने जनाएको छ। ‘खाली यसले तराईको हुस्सुलाई घटाएर पातलो बनाएको छ, आज साँझ ६ बजे धेरै क्षेत्रमा एक हजार मिटरभन्दा बढी भिजिबिलिटी रहेको छ,’ विभागका अनुसार, ‘जहाँ हिजोभन्दा कम कुहिरो भएकाले घाम लागेर राहत मिलेको छ।’
विभागका अनुसार भिजिबिलिटी १ हजार मिटरभन्दा तल भएमा कुहिरो लाग्ने र त्यसभन्दा माथि भएमा हुस्सु भन्ने गरिन्छ।
तराईमा भोलि पनि केही राहत मिल्ने तर जनजीवनमा भने चिसोले असर नै पार्ने भएकाले सचेत हुन आग्रह गरिएको छ। कतैकतै हुस्सु तथा कुहिरो पनि रहने बताइएको छ। हिजो भने तराईका अन्य क्षेत्रको ‘भिजिबिलिटी’ अलि धेरै रहे पनि नेपालगञ्ज र धनगढीमा बाक्लो थियो। त्यहाँ ३ सय मिटरसम्म झरेको थियो।
उच्च पहाडी भेगमा केही मौसम बदली रहेको र हिमाली क्षेत्रमा हिमपात भने जारी नै रहेको छ। विभागले आज साँझ ६ बजे सार्वजनिक गरेको विवरणअनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभाग मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु लागेको छ।
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा कतै आंशिक बदली रहे पनि मौसम मुख्यतया सफा रहने जनाइएको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हलुका हिमपातको सम्भावना रहेको छ। सोमवार दिउँसो पनि उस्तै रहने जनाइएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८