काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध मनाउने आफूहरुको नैसर्गिक अधिकार हो भन्दै यसलाई कसैले रोक्न नसक्ने बताएका छन् ।
आज (सोमबार) नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले देशभरि जनयुद्ध दिवस मनाउने बताए ।
‘भोलि जनयुद्ध दिवस मनाउने भनेर सरकारले निर्णय गरेको थियो । अस्ति भर्खरै शान्ति प्रक्रिया नटुंगिएको हुनाले जनयुद्ध दिवस मनाउन उचित नहुने भनेर अदालतले निर्णय गर्यो’, प्रचण्डले बैठकमा राखेको धारणा उद्धृत गर्दै एक नेताले भने, ‘हामी अदालतको निर्णयलाई शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने बेलासम्म सम्मान नै गर्छौं । तर जनयुद्ध दिवस मनाउने हाम्रो नैसर्गिक अधिकारलाई कसैले रोक्न सक्दैन, रोकिँदैन । देशभरि भोलि जनयुद्ध दिवस मनाइन्छ ।’
उनले भोलि फागुन १ गते काठमाडौंमा विधान सम्मेलनको उद्घाटन नै जनयुद्ध दिवसलाई सम्मान गर्दै मनाउने र देशभर आ–आफ्नो तरिकाले मनाउने पनि बताए ।
प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक बिदाहरुको सूचीमा फागुन १ गते जनयुद्ध दिवस पनि थियो । तर सर्वोच्च अदालतले जनयुद्ध दिवसमा आम सहमति नभएको सार्वजनिक बिदा दिनु उचित नहुने भन्दै बिदा नदिन अन्तरिम आदेश दिएको थियो ।
माओवादीले प्रमुख पद जितेको धेरै स्थानीय तहले फागुन १ गते जनयुद्ध दिवसको बिदा दिने भएका छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८