काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्टलिष्टमा परेका उम्मेद्वारहरुको अन्तर्वार्ता आज हुने भएको। उपकुलपति छनोट समितिको बिहीबार बसेको बैठकले अन्तर्वार्ताको मिति तोकेको थियो।
सोही बमोजिम आज दुई सिफ्टमा अन्तरवार्ता लिन लागिएको हो। सर्ट लिस्टमा परेका सात जनाको बिहान साढे ८ बजेदेखि अन्तरवार्ता शुरु हुनेछ। जस अनुसार कुशुम शाक्य, केदारजंग बराल, गोबिन्द सुवेदी, विश्वबहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौड्याल, टंकनाथ धमला र तीर्थराज खनियाँको पहिलो चरणमा अन्तरवार्ता हुनेछ। दिउँसो १ बजेदेखि नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सुर्यबहादुर थापाको अन्तरवार्ता हुनेछ।
यस्तै उपकुलपतिको सर्टलिटमा परेका १४ जनामध्ये विवादित व्यक्तिहरूबारे पुनर्विचार गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले सरकारको ध्यानाकर्षण गराएको थियो।
सर्टलिस्टमा बौद्धिक चोरीको आरोप लागेका, सूचना लुकाएको आरोपमा सूचना आयोगबाट जरिवाना पाएका र भ्रष्टाचार मुद्दा लागेका व्यक्तिहरू परेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए। सर्टलिस्टमा रहेका तीर्थराज खनियाँ, केशरजंग बराल र शिवलाल भुसालमाथि प्रश्न उठेको हो।
खनियाँमाथि बौद्धिक चोरीको आरोप छ भने बराललाई पोखरा विश्वविद्यालयको उपकुलपति हुँदा सम्बन्धनका क्रममा अनियमितता गरेको र त्रिविका बहालवाला कार्यवाहक उपकुलपति भुसाललाई राष्ट्रिय सूचना आयोगले जरिवाना गरेको भन्ने विषय संसदीय समितिमा सांसदहरूले उठाएका थिए।
त्रिविका कार्यवाहक उपकुलपति भुसालले हालै गरेका नियुक्ति र निर्णयबारे छानबिन गरी आवश्यक कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ।
त्रिविको उपकुलपतिको प्रतिस्पर्धामा सहभागी ४३ जनाले दिएको आवेदन, सोच पत्र र कार्य योजना ३ जना विज्ञबाट परीक्षण गराएर पाएको औसत अंक मध्ये उत्कृष्ट १४ जनाको नाम सार्वजनिक गरिएको थियो। सर्टलिष्टमा परेकासँग बुधबारसम्म प्रस्तुति लिइएको थियो। विज्ञ र छनोट समितिको सदस्यसँगै बसेर अन्तर्वार्ता लिन लागेको हो। अन्तरवार्ताको समय २० मिनेटको हुने समितिले जनाएको छ ।
उपकुलपतिको दौडमा विवादित व्यक्ति परेको भन्दै प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले आलोचना गरेका छन्। उनले योग्यलाई छाडेर त्रिभुवन विश्वविद्यालय ९त्रिवि० को उपकुलपतिको सर्टलिस्ट बनाएको आरोप लगाए।
प्रधानमन्त्री पुष्पकमल दाहालले मेरिटोक्रेसीको कुरा गरेर गठबन्धनका लागि जस्तोसुकै अनुचित क्रियाकलाप गरिसकेका योग्य साबित नहुनेहरुलाई त्रिविको उपकुलपति बनाउन लागेको ओलीले जिकिर गरे। ओलीले दलीय आधारमा उपकुलपति हुँदैनन् भनेर भन्ने प्रधानमन्त्री दाहालले मेरिटोक्रेसीको नाममा ठाडै राजनीतिक दलको सेवा गरेर हिँड्नेहरुलाई सर्टलिस्ट गरेको भन्दै आक्रोश व्यक्त गरे।
गत कात्तिक १६ मा तत्कालीन उपकुलपति प्राध्यापक धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले शिवलाल भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको छ। उनी पनि उपकुलपतिको दौडमा छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८