काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बागमती नगरपालिकाको शैक्षिक महोत्सव उद्घाटन गर्न शनिवार सर्लाही जाँदै छन्। नगरपालिकाले आज पत्रकार सम्मेलनमार्फत सो बारे जानकारी गराएको हो।
फागुन १२ गते बागमती नगरपालिका–११, कर्मैयास्थित सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा आयोजना हुने एकदिने महोत्सवको ‘प्रचण्ड’ले उद्घाटन गर्ने बागमती नपाले जनाएको छ। नगरपालिकाले पहिलोपटक बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्न लागेको हो।
पूर्वाधारसँगै चेतनाको विकास गर्नुपर्छ भनेर पहिलोपटक शैक्षिक महोत्सव आयोजना गर्न लागिएको नगरप्रमुख भरतकुमार थापाले बताए। नगरप्रमुख थापाले आफूहरू निर्वाचित भएर आएपछि नगरभित्रका सामुदायिक विद्यालयमा थुप्रै सुधार भएको र यसै अभियानअन्तर्गत शैक्षिक महोत्सव आयोजना गर्न जुटेको जानकारी दिए।
‘हामी निर्वाचित भएर आउँदा यहाँका सामुदायिक विद्यालयमा विद्यार्थी थिएनन्, अहिले हजारौँ विद्यार्थी छन्’, नगरप्रमुख थापाले भने, ‘भौतिक संरचना र शिक्षक दरबन्दीको अभावले थप नयाँ विद्यार्थीलाई भर्ना लिन सक्ने अवस्था छैन।’
उनले गुणस्तरीय पठनपाठनसँगै विद्यार्थीको सर्वांगीण विकासका लागि समाजको मौलिकता र संस्कृतिबारे ज्ञान दिन आवश्यक ठानेर महोत्सव आयोजना गर्न लागिएको बताए। महोत्सवमा विद्यार्थीले सातै प्रदेशको संस्कृति झल्किने नृत्य प्रस्तुत गर्नेछन्।
बागमती न.पा.को शिक्षा सुधार अभियानका सहजकर्ता एवं बृहत् राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरेले महोत्सव सफल बनाउन विगत तीन महिनादेखि प्रत्येक विद्यालयका विद्यार्थीलाई तयारी गराइरहेको जानकारी दिए। ‘विद्यालय सुधार गर्ने जिम्मेवारी हाम्रो हो, हामीले पनि यसको संरक्षण गर्नुपर्छ’ भनेर समुदायलाई जिम्मा दिन महोत्सव आयोजना गर्न लागिएको उनले बताए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८