काठमाडौं। फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्रि पर्व आज भगवान शिवको पूजाआराधना गरेर मनाइँदै छ।
हिन्दु धर्मावलम्बीहरूले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गर्दैछन्। महाशिवरात्रिको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा–आराधना गर्ने परम्परा रहेको छ।
पशुपति प्राङ्गणमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।
भगवान् शिव भक्तहरूको कल्याण गर्ने र चाँडै प्रसन्न हुने देवताका रूपमा परिचित छन्। यस्तै संहारका देवताका रूपमा पनि उनको महिमा अपार छ। भगवान् शिवलाई पञ्चामृतले स्नान गरी चन्दन, सेता फूल, बेलपत्र आदिले पूजा गर्ने प्रचलन छ।
महाशिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर भक्तपुरको डोलेश्वर, सिन्धुलीको कुशेश्वर र सिन्धुपाल्चोकको फटकेश्वरलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ।
पशुपतिनाथको दर्शन गर्न मुलुकका विभिन्न भागका साथै छिमेकी राष्ट्र भारतबाट समेत उल्लेख्य संख्यामा श्रद्धालु काठमाडौं आएका छन्।
भारतबाट आएका साधुसन्त तथा जोगीका लागि पशुपति क्षेत्र विकास कोषले भोजन तथा बासको व्यवस्था मिलाएको छ। कोषले उनीहरूलाई दक्षिणा भेटीसहित बिदाइ गर्ने गरेको छ।
नेपालका साथै भारतमा समेत धुमधामसँग यो पर्व मनाइन्छ। भारतमा द्वादश ज्योतिर्लिङ्गका साथै साना ठूला शिव मन्दिरमा घुइँचो लाग्छ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८