काठमाडौं। लुम्बिनी विकास कोष क्षेत्रका विहार तथा गुम्बामा पर्यटक राख्ने व्यवस्था रोक्न लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले माग गरेका छन्।
विकास कोषभित्र सञ्चालित विहार तथा गुम्बामा पर्यटक राख्ने कार्यले लुम्बिनी क्षेत्रको होटल व्यवसाय धरासायी बन्दै गएको र यसले पर्यटन व्यवसाय प्रभावित बनेको भन्दै व्यावसायिक रुपमा पर्यटक राख्ने व्यवस्था स्थायी रुपमै रोक लगाउन व्यवसायीले माग गरेका छन्।
लुम्बिनी होटल सङ्घ, नेपालले आज (मंगलबार) लुम्बिनी विकास कोषलाई ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र स्थायी रुपमा समाधान गर्न ठोस कार्य अगाडि बढाउन आग्रह गरेको छ।
सङ्घका अनुसार अध्यक्ष गोविन्दप्रसाद ज्ञवालीले विहार तथा गुम्बा गुरुयोजना क्षेत्र बाहिर रहेका होटलसँग व्यावसायिक प्रतिस्पर्धा गर्दै पर्यटक राख्ने ठाउँमा फेरिएको बताए।
‘विहार र गुम्बा भनिने ठाउँ बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको नमूना होइन, व्यापारको थलो बनेका छन्,’ उनले भने, ‘यस खालको अनियमितता र गुरुयोजनाको मर्मविपरीतको कार्य नरोकिँदा निजी क्षेत्रको लगानी र व्यवसायलाई सङ्कटमा पुर्याएको छ।’
अध्यक्ष ज्ञवालीले विगतमा राम्रो व्यवसाय सञ्चालनमा रहेका लुम्बिनी क्षेत्रका होटलमध्ये गत वर्ष खोलिएका १० भन्दा बढी स्थायी रुपमा बन्द भएको र यस वर्ष थप होटल बन्द हुने अवस्था रहेको समेत बताए। साथै सङ्घका अनुसार विहार तथा गुम्बालाई होटलको रुपमा सञ्चालन गरेर होटल व्यवसायलाई धरासायी बनाइएको छ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईमार्फत सङ्घले बुझाएको ज्ञापनपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं कोषका अध्यक्ष हितमान तामाङलाई बोधार्थ पठाइएको महासचिव अर्यालले जानकारी दिए। ज्ञापनपत्र बुझ्दै कोषाध्यक्ष भट्टराईले व्यवसायीको माग जायज भएको र सो मागलाई कुनै न कुनै रुपमा सम्बोधन गर्नुपर्ने समेत बताए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८