काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा मद्दत पुगोस् भन्ने उद्देश्यले नेपाल भ्रमणमा आएको बताएका छन्।
आज (सोमबार) भारतको नयाँ दिल्लीबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए। उनलाई नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्का लगायतले स्वागत गरेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले पत्रकारसँगको कुराकानीका क्रममा नेपालको क्रिकेटबारे बुझ्ने र यहाँको क्रिकेट खेल विकास होस् भन्ने भ्रमणको उद्देश्य रहेको पनि बताए। तीन दिने भ्रमणका क्रममा उनले नेपाली क्रिकेटको संरचनाबारे पनि निरीक्षण गर्ने जानकारी दिए। उनले कीर्तिपुरस्थित त्रिवि र मुलपानी क्रिकेट मैदानको अवलोकन गर्नेछन्।
नेपाल उत्कृष्ट एसोसिएट राष्ट्रमध्ये एक रहेको उल्लेख गर्दै उनले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको धारणा राखे। नेपालमा क्रिकेट लोकप्रिय रहेको र अझै क्रिकेटकै साथमा रहन उनले समर्थकहरूलाई आग्रह गरे। यससँगै प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीसँग क्रिकेटलाई सहयोग, आर्थिक पक्षका अवसर तथा खेलकुद नीतिबारे छलफल हुनेछ। लामो समय न्युजिल्याण्ड क्रिकेट बोर्डको नेतृत्व गरेका बार्कले सन् २०२० मा आइसिसीको अध्यक्ष समेत भइसकेका छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८