
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याल पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले उनलाई शनिबार राति अनुसन्धानको क्रममा पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ।
उनी नक्कली लाइसेन्स प्रकरणमा पक्राउ परेका हुन्। उनी सूचना प्रविधि विभागबाट हालै तीन महिनाका लागि अख्तियारमा सरुवा भएका थिए। यसअघि शनिबार यातायात व्यवस्था विभागमा करारमा कार्यरत कम्प्युटर इन्जिनियर हरिश भट्ट पक्राउ परेका थिए।
भट्ट पक्राउ परेलगत्तै अर्याल पक्राउ परेका हुन्। सीआईबी स्रोतले नक्कली लाइसेन्स वितरणबारे थप अनुसन्धान गर्न अर्याललाई पक्राउ गरेको पुष्टि गरेको छ।
विभागको छानबिनबाट विगत १० वर्षमा एक लाखभन्दा बढी लाइसेन्स अनियमित तरिकाले वितरण गरिएको पाइएको छ।
पछिल्लो १० वर्षमा ३५ वटा यातायात कार्यालयबाट १ लाख २ हजार सेवाग्राहीले लिखित परीक्षा र ट्रायल नदिइकनै लाइसेन्स लिएको देखिएपछि विभागले छानबिन गरेको थियो।
सीआइबीको नियन्त्रणमा रहेका भट्ट यसअघि २०७१ सालमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका थिए।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८