काठमाडौं। सर्वसाधारणको बचत र सेयरधनीको सेयर रकमसमेत हिनामिना गरेको अभियोगमा कास्की प्रहरीले मंगलवार प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका वडा नम्बर ४ गैह्रापाटनमा मुख्य कार्यालय रहेको प्राइम सहकारीको कार्य क्षेत्र भने कास्की जिल्लाभरी नै रहेको छ।
प्रहरीले प्राइम सहकारीका अध्यक्ष शंकर कार्की, प्रमुख कार्यकारी अधिकृत, सुरेन्द्रमणि पौडेल, पूर्वअध्यक्ष नितेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा, सञ्चालक मनबहादुर गुरुङ र सहकारीका कानूनी सल्लाहकार अधिवक्ता ईन्द्रप्रसाद बराल लगायतलाई पक्राउ गरेको हो।
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका रजिष्ट्रार भेषराज रिजालले प्राइममा १ अर्ब ५४ करोड रुपैयाँ हिनामिना भएको देखिएको बताए।
उनले भने, “कैफियत देखिएकाले चैतदेखि नै छानबिन थालेका थियौँ। प्रतिवेदन प्रहरीलाई बुझाइसकेका छौँ।”
जिल्ला प्रहरी कार्यालय कास्कीले प्राइमका बचतकर्तालाई सहकारीविरुद्ध प्रमाणसहित उजुरी दिन सूचना जारी गरेको छ। जेठ २० गतेभित्र सहकारीका सदस्य र बचतकर्तालाई पासबुक, सेयर प्रमाणपत्र, पासबुक, भौचर, मुद्दति प्रमाणपत्र लगायतका प्रमाणसहित उजुरी दिन आग्रह गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले बताए।
सहकारी रजिष्ट्रारको कार्यालयको पत्र पाउनासाथ कारबाही शुरु गरेको शर्माले बताए।
यसअघि कास्कीका मित्रमिलन सहकारी, सूर्य दर्शन बचत तथा सहकारी, बलिदानी बहुउद्देश्यीय सहकारी, विन्दवासिनी सहकारी, शिवशिखर सहकारी र इमेज सहकारीले बचतकर्ताको रकम अपचलन गरी अनियमितता गरेपछि केहीको मुद्दा कास्की जिल्ला अदातलतमा छ भने केही सहकारीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८