काठमाडौँ। संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने प्रतिवद्धता जनाएका छन्।
नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा बोल्दै उक्त कुरा बताएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ।
त्यस अवसरमा प्रधानमन्त्री सुनकले आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीलगायत आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने बताए। उनले बेलायत र नेपालबीचको ऐतिहासिक सम्बन्धका विभिन्न आयामका बारेमा चर्चा गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन ‘ब्रिटिस गोर्खा’को योगदानको प्रशंसा गरे। विगतमा राजा चाल्सले गर्नुभएको नेपाल भ्रमणको स्मरण गर्दै उनले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त नेपाली ‘डायस्पोरा’को काम र उपलब्धिबाट आफू प्रेरित भएको बताए।
बेलायतकी परराष्ट्र राज्यमन्त्री आन मारी ट्रेवल्यानले बेलायत–नेपालबीचको घनिष्ठ सम्बन्धबारे चर्चा गर्दै बेलायतले नेपालको विकास प्रयासमा सहयोग गरिरहेको र त्यो जारी रहने बताइन्। उनले नेपालसँगको आर्थिक सम्बन्धलाई थप विस्तार गरी उसको मध्यम आययुक्त मुलुक बन्ने लक्ष्यमा सहायता गर्ने बताइन।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट प्रधानमन्त्री सुनकप्रति शुभकामना व्यक्त गर्दै सन् १९२३ मा सम्पन्न मैत्रीसन्धिका विविध पक्षको चर्चा गरे।
कार्यक्रममा बेलायतमा विभिन्न पेसा तथा व्यवसायमा रहेको नेपाली समुदाय, भूतपूर्व गोर्खा, बेलायतका सांसद तथा उच्चपदस्थ अधिकारी एवं नेपालका बेलायती मित्रहरूको उपस्थिति थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८