काठमाडौँ। सहकारी ठगीका आरोपित उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै विपक्षी दल नेपाली कांग्रेसले आज पनि विरोध प्रदर्शन गर्दै छ।
सङ्घीय संसद्मा निरन्तर अवरोध गर्दै आएको कांग्रेस अब त्यही मुद्दा लिएर विरोध प्रदर्शनका लागि सडकमा उत्रिएको हो।
पहिलो चरणमा काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेसले यहाँका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय समितिबाट प्रतिनिधि खटिएका छन्। उपत्यकाका तीन वटै जिल्ला कार्यसमितिको अगुवाइमा आइतबार काठमाडौँमा गृहमन्त्री लामिछानेको रवैयाविरुद्ध विरोध प्रदर्शन गरिने कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए।
काठमाडौँको प्रदर्शनी मार्गमा दिउँसो १ बजे हुने विरोध कार्यक्रमलाई भव्य बनाउन काठमाडौँ, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूले तयारी गरेका छन्। प्रदेश सभापति बानियाँका अनुसार सरकारद्वारा सहकारी ठगीलाई संरक्षण, संसद्भित्र सत्तापक्षका नेताहरूको धम्कीपूर्ण अभिव्यक्ति, संसदीय चरित्र र अभ्यासको विरुद्ध कांंग्रेसले प्रदर्शन गर्न लागेको हो।
सहकारीको बचत अपचलन गरेको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले बजेट अधिवेशन सुरु भएयता सङ्घीय संसद्का सबै बैठकमा अवरोध गर्दै आएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८