काठमाडौँ। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८१/०८२) को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको चौथो अधिवेशनको छैटौँ अधिवेशनमार्फत बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
नीति तथा कार्यक्रमका धेरैजसो पुराना कार्यक्रमहरूलाई निरन्तरता दिइएको छ भने केही नयाँ कार्यक्रमहरू पनि समेटिएको छ। साना आयोजना कार्यान्वयनका लागि स्थानीय तहमा हस्तान्तरण गरिने र प्रदेश सरकारले ठुला र रणनीति योजनामा ध्यान दिइने नीति लिएको प्रदेश प्रमुख परियारले बताए।
सडक पूर्वाधार, स्वास्थ्य, कृषि, सिँचाइ सुविधालगायतका विषयलाई प्राथमिकता राखेर ल्याइएको नीति, कार्यक्रममा कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गरिने विगतकै कार्यक्रमलाई निरन्तरता दिइएको छ। प्रदेश आयुर्वेद औषधालयलाई वैकल्पिक औषधि उत्पादनको मूख्य केन्द्र बनाइने नीति तथा कार्यक्रम सार्वजनि गर्दै प्रदेश प्रमुख परियारले जानकारी दिए।
त्यस्तै, स्वास्थ्यमा सुधार ल्याई ‘कर्णाली स्वस्थ नागरिक’अभियान चलाइने कार्यक्रम ल्याइएको छ भने सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गर्न प्रोत्साहन अभियान चलाइने छ। कर्णालीले एक धारा एक घर अभियानलाई पनि निरन्तरता दिने भएको छ भने प्रदेश राजधानी वीरेन्द्रनगरलाई स्वच्छ राख्न ‘प्रदेश राजधानी विकास कार्यक्रम’ सञ्चालन गरिने भएको छ।
सार्वजनिक शिक्षा सुधारका लागि ‘१० वर्षे शिक्षा नीति’ तयार गरिने र कर्णालीलाई पूर्ण साक्षर प्रदेश घोषणा गरिने उल्लेख छ। यसैगरी बाल विवाह, छाउपडी प्रथा, छुवाछुतको अन्त्यका लागि सामाजिक सशक्तीकरण कार्यक्रम चलाइने छ भने राउटे समुदायको संरक्षणका लागि कार्यक्रम सञ्चालन गरिने छ।
१० औँ राष्ट्रिय खेलकुद सम्पन्न गरिने र उक्त प्रतियोगितामा कर्णालीबाट सहभागी हुने खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाइने छ। यस्तै कर्णालीको भाषा, संस्कृतिलाई संरक्षण गर्न कर्णाली प्रज्ञा प्रतिष्ठान सम्बन्धी कानून बनाइने परियारले बताए।
सुर्खेत विमानस्थलको विस्तार, आन्तरिक हवाई उडानका लागि पहल गरिने छ भने सुरक्षाको लागि राजधानीमा सीसीटिभी क्यामेरा जडान गरिने कर्णाली सरकारको नीति रहेको छ। ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’ कार्यक्रमलाई प्रभावकारी बनाइने छ भने ‘जनतासँग मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन गरिने छ।
आयोजना बैँक स्थापना गरी आयोजना निर्माण प्रक्रियामा सुधार ल्याइनेदेखि उत्पादनमुलक आयोजनामा लगानी गरिने नीति सरकारले ल्याएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८