काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (सोमबार) संकटकालीन योजना अभ्यास गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा भएको विमान दुर्घटना सम्बन्धी अभ्यासमा हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित विभिन्न निकाय संलग्न थिए।
दिउँसो १ बजेदेखि साढे १ बजेसम्मका लागि विमानस्थल बन्द गरेर गरिएको अभ्यासमा नक्कली जहाजमा आगलागी भएपछि यात्रु तथा चालकदलको उद्धार कसरी गर्ने लगायतका अभ्यास गरिएको थियो। उद्धारका लागि दमकल, एम्बुलेन्सर उद्धारकर्मी कसरी परिचालित गर्ने भन्ने र विभिन्न अभ्यासमध्ये ‘एयरक्राफ्ट एक्सिडेन्ट इन एयरपोर्ट’ सम्बन्धी पूर्णकालीन अभ्यास भएको थियो।
सङ्कटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरूबीच सहयोगको अभिवृद्धि गराउने तथा सहभागी निकायहरूले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमतामा अभिवृद्धि गराइ यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको सञ्चालन छिटो भन्दा छिटो सुचारु गराउने उद्देश्यले उक्त अभ्यास गरिएको विमानस्थलका प्रवक्ता सुवास झाले बताए।
उनका अनुसार उडान-अवतरण सामान्य डिले भए पनि अभ्यासका क्रममा विमानस्थल बन्द भएको छैन। अभ्यासबारे आन्तरिक वायुसेवा कम्पनीदेखि नेपाल उडान गर्ने सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिएको छ।
उनका अनुसार सबै वायुसेवाले उडान–अवतरण सेड्युल मिलाएका छन्। विमानस्थल धावनमार्गको पूर्वपट्टि भागमा पूर्णकालीन अभ्यास भइरहेकाले उडान-अवतरण रोकिएका छैनन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड तथा त्रिभुवन विमानस्थलको ‘विमानस्थल आपतकालिन योजना’ अनुसार वर्षैपिच्छे यस्तो अभ्यास अनिवार्य रूपमा गर्नुपर्छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८