काठमाडौँ। संखुवासभाको खाँदबारी नगरपालिका-११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ।
गएराति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एकजना घाइते भएका छन्।
मणिप्रसाद राई, रामप्रसाद राई र दीलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन्।
पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्। पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा ९ घर विस्थापित भएको लामिछानेले बताए।
खाँदबारी-४ सेकाहाका चार घर पहिरोबाट विस्थापित भएका वडा नम्बर ४ का वडाध्यक्ष विनोद सुब्बा गुरुङले जानकारी दिए। चिचिला गाउँपालिकाको १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेको प्रहरीले जनाएको छ। जिल्लामा बाढी पहिरोले के-कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
पहिरोले उत्तर–दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ। कालोपत्र गर्न ठिक्क पारिएको चार किलोमिटर सडकमा क्षति पुगेको उत्तरदक्षिण कोशी सडक आयोजनाले जनाएको छ। यो कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का सडकखण्डमा पर्दछ।
निरन्तरको वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो गएपछि सडक अवरुद्ध भएको छ। पहिरोका कारण करिब रू एक करोडको क्षति भएको सडक कार्यालयले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८