
काठमाडौँ। काभ्रेपलाञ्चोकको धुलिखेलमा छैटौँ इन्डो–नेपाल फ्रेण्डशिप सोतोकान कराते च्याम्पियनसीप प्रतियोगिता आयोजना हुने भएको छ।
नेपाल सोतोकान कराते सङ्घको आयोजनामा यही असार ७ र ८ गते धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय कभर्ड हलमा हुने प्रतियोगितामा नेपाल र भारतका ६ सय जना खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ।
आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा छिमेकी देश भारतका २५ प्रान्तबाट छनोट गरिएका २५० जना र नेपालका ४९ जिल्लाका ३५० जना खेलाडीले च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्ने जानकारी दिइयो।
सार्क एशियाली र ओलम्पिक जस्ता ठूला खेललाई टेवा पुर्याउन तथा खेलाडीमार्फत दुई देशबीच भाइचाराको सम्बन्ध स्थापित गराउन प्रतियोगिता आयोजना गरिएको सङ्घका प्रमुख प्रशिक्षक हेमकुमार श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार प्रतियोगितामा ५ वर्षदेखि ९ वर्षसम्मका १५ देखि ३५ किलोग्राम (केजी) तौलसम्मका बालक र बालिकाले अलगअलग तथा व्यक्तिगत रूपमा प्रतिस्पर्धा गर्नेछन्।
१० देखि १२ वर्षसम्मका २५ देखि ५० केजी, १३ देखि १५ वर्ष, १६ देखि १८ वर्ष, १९ देखि ४० वर्ष र खुला रूपमा पनि प्रतिस्पर्धा गर्नेछन्। ४० वर्ष माथिले भने व्यक्तिगत कातालगायतमा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिता आयोजनाका लागि व्यवस्थापन अन्तिम चरणमा पुगेको श्रेष्ठले बताए। सङ्घले पाँचौँ प्रतियोगिता काठमाडौँ स्थित दशरथ रङ्गशालामा आयोजना गरेको थियो।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८