काठमाडौँ। काठमाडौँ महानगरपालिका स्वास्थ्य विभाग डेंगु संक्रमण फैलाउने लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न समुदायमा सचेतना बढाउने अभियानमा लागेको छ।
नियमित रूपमा पानी पर्न थालेसँगै यो रोगको जोखिम बढ्न सक्ने भन्दै कामपाले असार ९ गतेदेखि नै सबै वडाहरूमा उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ।
डेंगु नियन्त्रण्क ‘फोकलपर्सन’ ऋषि भुसालका अनुसार यस अभियानमा ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ। “रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन्।
उनीहरुको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ। यसकारण पानी जम्न दिनु हुँदैन। यो काम व्यक्ति र समुदाय आफैंले गर्न सक्छन्, त्यसैले अभियान सञ्चालन गरिएको हो”, उनले भने। भुसालका अनुसार पानी जमेका खाल्डा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम अभियानमा क्रममा भइरहेका छन्।
रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गरे। “पानी परेको समयमा सडक र सडक किनाराका खाल्डाखुल्डीमा फोहर पानी जम्मा हुन्छ। यस्तो पानीमा लामुखट्टेको संख्या वृद्धि हुन्छ। लार्भा खोज्ने तथा नष्ट गर्दा यस्ता ठाउँलाई प्राथमिकतामा राखेका छौँ”, उनले भने।
लार्भा नष्ट गर्न लार्भिसाइड औषधिको प्रयोग गरिएको जनाउँदै भुसालले यो जैविक औषधि रहेको बताए। “यसले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी गर्दैन। यो विषादी होइन, औषधिलाई पानीको माथिलो भागमा छर्किने गरिन्छ। यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ। यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ। यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ”, उनले भने।
डेंगुको संक्रमणका बारेमा परामर्श दिनका लागि कामपाले निःशुल्क हटलाइन टेलिफोन ११८० चौबीसै घण्टा सञ्चालनमा राखेको जनाएको छ। अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्थासमेत गरिएको छ। एक्कासी उच्च ज्वरो आउनु डेंगुको मुख्य लक्षण हो। यससँगै धेरै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा बिमिरा आउनेलगायत यसका मुख्य लक्षण रहेका छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८