२५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुकुल ढकाललाई कारबाही गरेको छ।
मंगलबार चःमतिमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्य मात्र राख्ने गरी अरू पदीय जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।
पार्टीका सहप्रवक्ता मनिष झाका अनुसार केन्द्रीय अनुशासन आयोगले गरेको सिफारिसअनुसार ढकाललाई पदमुक्त गर्ने निर्णय भएको हो।
ढकाललाई रास्वपाले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त गरेको उनले जानकारी दिए। पार्टीको आचारसंहिता उल्लंघन गरेको र पार्टीलाई क्षतिसमेत पुर्याएको भन्दै रास्वपाले ढकाललाई कारबाही गरेको हो।
झाका अनुसार ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गर्ने केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय भएको हो।
‘पार्टी विधानको धारा ५६ (३) बमोजिम पार्टीको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरिएको छ,’ उनले भने।
कारबाही चित्त नबुझेमा ढकालले ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिन सक्नेछन्।
पार्टी केन्द्रीय समिति बैठकले महामन्त्रीलगायत पदबाट पदमुक्त गरेको सार्वजनिक हुने बित्तिकै ढकालले रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ, रास्वपाभित्र घण्टी बज्न रोकिँदैन भन्ने प्रतिक्रिया दिएका छन्।
ढकालले आफूलाई स्पष्टीकरणको मौका समेत नदिई पार्टीले कारबाही गरेको दाबीसमेत गरेका छन्।
ढकालले ३९ जिल्लाका नेता तथा कार्यकर्तासँग अन्तर्क्रिया गरी प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका थिए। उक्त प्रतिवेदन यसअघि बसेको केन्द्रीय कार्यसमिति बैठकमा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले पढेर सुनाएका थिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८