काठमाडौँ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण हालसम्म एक सय आठ जनाको मृत्यु भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायत विपद्मा परी आज दिउँसोसम्म एक सय आठ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना रहेका छन्।
यस्तै उक्त घटनामा परेर एक सय १९ जना घाइते भएका छन्। घाइते हुनेमा काठमाडौँ उपत्यकामा आठ जना, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा नौ जना, बागमती प्रदेशमा सात जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना रहेका छन्।
घाइतेलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ। बाढी पहिरोमा परेका ५३ जनाको उद्धार गरिएको र ६ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ।
बाढीको कारण जम्मा एक सय ८२ घर डुबानमा परेको बताइएको छ। यस्तै, दुई सय तीन वटा घर, ७५ वटा गोठ, ४१ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा समेत क्षति पुगेको छ।
पाँच सय १६ वटा पशुचौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार पाँच सय ५२ घर परिवार विस्थापित भएका छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८