काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा जाँचबुझ आयोगले काम शुरू गरिसकेको बताएका छन्।
आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले दुर्घटना जाँच आयोगले दुर्घटनास्थलको स्थलगत अनुगमन गरी आवश्यक विवरण लिएको बताए।
आयोगले ककपीट भ्वाइस रेकर्डर (सिभिआर) र फ्लाइट डेटा रेकर्डर ९एफडीआर० संकलन गरी डेटा विश्लेषणको तयारी गरिएको उनले बताए।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एनएक्स १३ को प्रावधान तथा गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली–२०७१ अनुरूप जाँचबुझ आयोग गठन गरिएको हो।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समय र शून्य समयमा सांसदहरुले विमान दुर्घटनाको बारेमा प्रश्न गरेका थिए।
पर्यटनमन्त्री पाण्डेले विमान दुर्घटनाबारे जाँच गर्न समिति बनिसकेको र सरोकारवाला विभिन्न निकायसँग परामर्श गरिएको भन्दै दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन मन्त्रालय प्रतिबद्धताका साथ लाग्ने विश्वास व्यक्त गरे।
उनले विमान दुर्घटनाको भोलिपल्टै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा छलफल गरिएको बताए। पर्यटनमन्त्रीका अनुसार यमनी नागरिकबाहेक मृतक सबैको शव आफन्तले बुझिसकेका छन्।
यमनी नागरिकको हकमा शव व्यवस्थापनका लागि नेपालमा यमनको दूतावास नभएकाले यमनको दूतावास रहेको नजिकको मुलुकसँग सम्पर्क र समन्वय भइरहेको तथा शव व्यवस्थापनको खर्च सौर्य एयरलाइन्सले बेहोरेको छ।
पर्यटनमन्त्री पाण्डेले दुर्घटनामा परी मृत्यु भएका सबैप्रति मन्त्रालय र व्यक्तिगततर्फबाट भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते चालकदलका सदस्य क्याप्टेन मनीष रत्न शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
विमान दुर्घटनामा मृत्यु भएकालाई बीमा नीतिअनुसार सरल र सहज रूपमा उपलब्ध गराउन कम्पनीले प्रतिबद्धता जनाएको छ। बीमा नीति अतिरिक्त एयरलाइन्सबाट ७ लाख रूपैयाँको सामाजिक सुरक्षा कोषसमेत रहेको छ।
नेपालले सन् २०१८ मा यात्रु बीमासम्बन्धी मन्ट्रियल सन्धि अनुमोदन गरिसकेको र उक्त व्यवस्था अन्तर्राष्ट्रिय हवाई यात्रुमा मात्रै लागू हुने भएकाले आन्तरिक उडानका लागि यात्रुको बीमा कम भएकाले आन्तरिक उडानका लागि बीमा विधेयक तर्जुमाको काम अघि बढिसकेको पर्यटनमन्त्रीले बताए।
हाल आन्तरिकमा यात्रु उडानका लागि २० हजार अमेरिकी डलर बीमा व्यवस्था गरिएको छ।
एयरलाइन्सको तर्फबाट मृतकका परिवारलाई थप सुविधा उपलब्ध गराउन एयरलाइन्सका पदाधिकारीसँग छलफल गरिएको र कम्पनीका तर्फबाट सम्भव भएसम्म योग्यताका आधारमा रोजगारीको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएको छ।
मन्त्री पाण्डेले बीमा रकम सहज तवरले यथाशीघ्र उपलब्ध गराउन सौर्य एयरलाइन्सलाई निर्देशन दिइसकेको बताए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८