काठमाडौँ। चितवनको सिमलताल दुर्घटनामा बेपत्ता बस र यात्रुको खोजीमा आएको भारतीय टोली त्रिशुलीको वेग सोचेभन्दा धेरै भएकाले स्वदेश फर्किएका छन्।
त्रिशूली नदीको वेग र धमिलोपन सोचेभन्दा धेरै भएको तथा आफूहरूको प्राविधिक क्षमताभन्दा माथि रहेको निष्कर्षसहित भारतीय टोली आज दिउँसो फर्किएको हो।
असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा यात्रुवाहक बस खोज्न साउन ४ गते पानीमा प्रयोग हुने सोनार क्यामेरा, चुम्बकलगायतका उपकरण र ४ जना गोताखोरसहितको १२ जना प्राविधिक भारतीय टोली नेपाल आएको थियो।
लगातार ८ दिनसम्म अत्याधुनिक प्रविधिसहित त्रिशुलीका विभिन्न ठाउँमा हराएका यात्रु खोज्दा पनि नभेटिएपछि भारतबाट आएको टोली फर्किएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले बताए।
भारतीय उद्धार टोलीले त्रिशुलीमा पानीको वेग र धमिलोपन आफूहरुले सोचेभन्दा बढी भएकाले उपलब्धि हासिल गर्न नसकेको बताएका सहायक सिडिओ भुसालले जानकारी दिए। यसका साथै अनुसन्धानको प्रतिवेदन भने आउन बाँकी रहेको छ।
अत्याधुनिक सोनार क्यामेरालगायतका उपकरणसहित १२ सदस्यीय भारतीय टोलीले बेपत्ता बस र यात्रुको खोजी गरेको थियो भने हिजो बस खोज्न भारतीय टोलीले ल्याएको चुम्बक नै हराएको थियो।
हिजो (शनिबार) हराएको १९ किलोको चुम्बक पनि हालसम्म फेला परेको छैन। भारतीय टोली फर्किए पनि नेपाली उद्धार टोलीले भने खोजी कार्य जारी राख्नेछ।
सिमलतालमा गएको पहिरोमा परेर त्रिशुलीमा बेपत्ता २ वटा यात्रुवाहक बस र ३८ जना यात्रुको अवस्था आज १७औँ दिनसम्म अझै फेला परेको छैन।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८