काठमाडौँ। प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरुले समितिको बैठक राख्दा गणपूरक संख्या पुर्याउनै कठिन भएको गुनासो व्यक्त गरेका छन्।
प्रतिनिधि सभाको फुल हाउसमा गणपुरक संख्या नपुग्दा त्यसले बहस सिर्जना गर्ने तर, संसदीय समितिको बैठकमा गणपुरक संख्या नपुग्ने समस्या सुनाउँदा कतै सुनुवाइ नहुने उनीहरूको गुनासो छ।
सभामुख देवराज घिमिरेले मंगलबार प्रतिनिधि सभामा राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतक र सचेतकहरू तथा संसदीय समिति सभापतिलाई छलफलमा बोलाएका थिए। सिंहदरवार स्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा समिति सभापतिहरुले गणपुरक संख्याकै कारण समितिको बैठक राख्नमा समस्या हुने गरेको गुनासो गरेका हुन् ।
छलफलका क्रममा समितिका सभापतिहरुले प्रगति विवरण सुनाएका थिए। त्यसमा सबैभन्दा बढी बैठक कानून, न्याय तथा मानव अधिकार समितिको बसेको विवरण प्रस्तुत भएको थियो। हालसम्म यो समितिले ६३ वटा बैठक सञ्चालन गरेको संसदीमा रेकर्ड रहेको छ।
यही समितिका सभापति बिमला सुवेदीले पनि गणपूरक संख्याको कारण समस्या हुने गरेको बताइन्। समितिको बैठक बस्नका लागि सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य हुने प्रावधानका कारणले समेत कतिपय अवस्थामा बैठक ढिलो बस्ने वा बैठक नै स्थगित गर्नु परेको पनि उनले बताइन्।
प्रतिनिधि सभा नियमावलीको नियम १७८ मा संसदीय समितिको बैठकमा सम्बन्धित विषयको मन्त्रीको उपस्थिति हुनुपर्ने प्रावधान रहेको छ।
‘समितिमा विधेयकमाथि हुने छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य हुनेछ। अन्य कार्यसूचीमाथिको छलफलमा समेत मन्त्री उपस्थित हुनुपर्नेछ।’ नियमावलीको नियम १७८ को उपनियम ४ मा उल्लेख छ।
यस्तो प्रावधानले समितिमा हुने छलफलमा सरकार जानकार हुने र अगाडि बढाउन सहज हुने भएता पनि कतिपय अवस्थामा यही प्रावधानका कारण समिति प्रभावित हुने गरेको सभापति सुवेदीले बताइन्।
हिजो (मंगलबार) को छलफलमा सहभागी प्रतिनिधि सभाका विषगत समितिका अन्य सभापतिहरूले समेत गणपूरक संख्याका कारण समस्या हुने गरेको भनी सभमुखको ध्यानाकर्षण समेत गरेका थिए। एक जना सभापतिले ‘सांसदलाई बैठकमा ल्याउनै गाह्रो पर्ने गरेको उल्लेख गर्दै उक्त समस्या समाधानको उपाय खोजिनुपर्ने प्रस्ताव समेत राखे।
संसदीय समितिको बैठक बस्नका लागि समितिमा तत्काल कायम रहेका सदस्य संख्याको ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ। सो सम्बन्धी व्यवस्था प्रतिनिधि नियमावलीको नियम १८२ मा रहेको छ।
‘‘समितिको गणपूरक सङ्ख्या समितिको तत्काल कायम रहेको सदस्य संख्याको एकाउन्न प्रतिशत हुनेछ’ नियमावलीको नियम १८२ को उपनियम ९१० मा छ।
समितिको बैठकमा गणपूरक संख्या नपुगेसम्म समितिको सभापतिले बैठकको कार्य स्थगित गर्ने वा अर्को समय तोक्नुपर्ने हुन्छ। गणपूरक सङ्ख्या नपुगेर स्थगित भएको बैठक सोही बैठकको निरन्तरताको रूपमा अर्को बैठक बसे त्यस्तो बैठक एक तिहाई सदस्यको उपस्थितिमा बस्न सक्नेछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८