काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी समालेको २७ दिनमा मन्त्री प्रदीप पौडेलले आफ्नो आगामी कार्य योजना सार्वजनिक गरेका छन्।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा आफूले गर्न चाहेका कामको कार्य योजना बनाई सार्वजनिक गरेका हुन्।
जसमा मन्त्री पौडेलले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाइने सेवा सुविधा विस्तार गर्ने योजना ल्याएका छन्।
पाँचजना परिवारले वार्षिक ३५ सय तिरेर स्वास्थ्य बीमा गरेमा वार्षिक एक लाख बराबरको सेवा बीमामार्फत पाउँदै आएका छन् तर मन्त्री पौडेलले बीमितहरूले बीमामार्फतको पाउने सेवा एक लाखलाई बढाएर पाँच लाख बराबरको सेवा पाउने व्यवस्था मिलाउन आफूले काम गर्ने योजना ल्याएका छन्।
मन्त्री पौडेलले भने‚ ‘हाल स्वास्थ्य बीमामार्फत बीमितहरूले एक लाख बराबरको स्वास्थ्य सेवा पाउँदै आएका छन् तर म समयानुकूल यो सुविधा बढाएर पाँच लाख पुर्याउनुपर्छ भन्नेमा छु। त्यसैले म यसमा पनि काम गर्ने योजना बनाएको छ, स्वास्थ्य बीमामा समेट्न, आम्दानीको आधारमा प्रिमियम र सहभुक्तानीको प्रणाली व्यवस्थित र वैज्ञानिक बनाउन स्वास्थ्य बीमाको नीतिगत र कानुनी व्यवस्थामा आवश्यक पुनरावलोकन गरिनेछ।’
आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निःशुल्क उपचारका सबै कार्यक्रम एकीकृत गरेर बीमामा जोड्ने मन्त्री पौडेलको योजना छ।
मन्त्री पौडेलले सबै सामाजिक सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमाभित्र ल्याउने घोषणा पनि उनले गरेका छन्। उनले स्वास्थ्य बीमाको प्रवेशविन्दु र प्रेषण प्रणालीको विद्यमान झन्झटिलो प्रक्रियालाई पुनरावलोकन गर्ने, सरकारी तथा गैरसरकारी क्षेत्रका कार्यरत कर्मचारीहरूको हकमा सम्बन्धित संस्था र आमनागरिकको हकमा बसोवास गरिरहेको वडा सिफारिसका आधारमा तत्काल बसोवास गरिरहेको स्थानीय तहमै स्वास्थ्य बीमा कार्यक्रम उपलब्ध गराउने, रियल टाइमका लागि इएमआर प्रणाली लागू गर्ने योजना अघि सारेका छन्।
स्वास्थ्य बीमामा स्रोतको दायरा बढाउन स्वास्थ्य करकोषबाट बीमालाई थप रकम उपलब्ध गराउने, निश्चित मात्राभन्दा बढी चिनी प्रयोग हुने खाद्यपदार्थमा सुगर ट्याक्स लगाउने, राज्यका विभिन्न संगठित संस्थाका उपचार कोषलाई स्वास्थ्य बीमा कोषसँग आबद्ध गर्दै लैजाने, आकस्मिकबाहेकका सबै कार्यक्रमलाई बीमामा आबद्ध गरी निःशुल्क उपचारका लागि स्वास्थ्य संस्थालाई उपलब्ध गराउने अनुदान बीमालाई उपलब्ध गराउने मन्त्री पौडेल जानकारी दिए। साथै उनले औषधिको मूल्य समायोजन गरिने समेत बताए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८