काठमाडौँ। २५ मेगावाट क्षमता भएको सेती नदी जलविधुत आयोजनाको काम सम्पन्न भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण शुरू गरिएको हो।
आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ।
‘आयोजनाको निर्माणत अन्तर्गका सबै काम सम्पन्न भएको छ। यही साउन ३० गते पेनस्टक पाइपमा पानी हाल्ने र त्यसपछि ‘वेट टेष्ट’ (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने) को काम शुरू हुने पनि भिजन लुम्बिनी ऊर्जा कम्पनीले जानकारी दिएको छ।
‘वेट टेष्ट’को काम सकिएको दुई साताभित्रमा परीक्षण उत्पादन शुरू हुने कम्पनीले जनाएको छ। त्यसपछि आयोजनाको व्यावसायिक उत्पादन हुनेछ। सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी सेतीको पानी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर १८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा खसालेर विधुत उत्पादन गरिने छ। पाइपमार्फत लगिएको पानी पावर हाउसमा रहने १२.५ मेगावाट क्षमताका दुईवटा टर्वाइनमा खसालिने छ।
कम्पनीका अनुसार आयोजना सम्पन्न गर्न स्थानीयवासी तथा स्थानीय सरकारलगायतको सहयोग मिलेको रहेको छ। जलविधुतमा २५ मेगावाट सानो परियोजना भने होइन र यस परियोजनामा धेरै मानिस जोडिनुएका छन्। साथै एक हजार ५०० प्रवर्धकको लगानी समेत यसमा रहेको छ। पारदर्शी रूपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएकाले, उत्पादन शुरू भएसँगै छिटै सफलता मिल्ने कम्पनीले जनाएको छ।
सेती नदी जलविधुत आयोजनामा रू पाँच अर्ब भन्दा बढी लगानी भएको छ। यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् भने अन्य लगानी प्रवर्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको कम्पनीले जनाएको छ।
सेती नदी जलविधुत आयोजनाको कार्य २०७७ को अन्तिमबाट शुरूवात गरिएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८