काठमाडौँ। नेपालको वैदेशिक व्यापारबाट भएको घाटा वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिटेन्सबाट त्यसको पूर्ति भएको छ।
नेपालको अर्थतन्त्रलाई दिगो रुपमा टिकाइराख्न वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिटेन्सको महत्त्वपूर्ण भूमिका रहेको छ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले गत वर्ष १४ खर्ब ४५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको देखाएको छ। यो देशको अर्थतन्त्रको आकारका तुलनामा २५ प्रतिशत हो।
अघिल्लो आर्थिक वर्षका तुलनामा गत वर्ष १६.५ प्रतिशतले रेमिटेन्स रकम बढेको छ। वैदेशिक रोजगारीमा जाने क्रममा बढोत्तरीसँगै रेमिटेन्स पनि कीर्तिमानी स्तरमा बढेको हो।
रेमिटेन्सको वृद्धिले देशको अर्थतन्त्रका महत्त्वपूर्ण सूचकलाई पनि सकारात्मक देखाउन भूमिका खेलेको छ। जस्तै- गत वर्ष देशको वैदेशिक व्यापारमा नेपाललाई १४ खर्ब ४० अर्ब रूपैयाँ घाटा भयो। यो घाटा बराबरको विदेशी मुद्रा नेपालले रेमिटेन्स भित्र्याएरै तिरेको छ।
यसले गर्दा नेपालको वैदेशिक मुद्राको सञ्चितिमा क्षति हुन पाएन। राष्ट्र बैंकका अनुसार गत असारसम्म नेपालको वैदेशिक मुद्राको सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर पुगेको छ भने यो अघिल्लो असारको तुलनामा ३०.४ प्रतिशतले धेरै हो।
यो सञ्चितिले १३ महीनाको वस्तु र सेवाको आयात थेग्छ। अर्थात्, नेपालसँग अहिले पर्याप्त मात्रामा वैदेशिक मुद्रा छ। सामान्यतया सात महीनाको वस्तु र सेवाको आयात थेग्न पुग्ने विदेशी मुद्रा राख्ने लक्ष्य राष्ट्र बैंकको हुन्छ।
गत वर्ष रेमिटेन्सकै योगदानका कारण देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तरलाई जनाउने चालू खाता पनि धनात्मक देखिन पुग्यो। गत वर्ष चालू खाता दुई खर्ब २१ अर्ब रूपैयाँले बचतमा रह्यो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८