काठमाडौँ। साँस्कृतिक पर्व हो गाईजात्रा। काठमाडौँ उपत्यकाका तीनै शहरमा नेवार समुदायले मनाउँदै आएको गाईजात्रा पछिल्लो समय उपत्यकाबाहिर पनि मनाउने गरिएको छ।
गाईजात्रा वर्षभरि निधन भएका आफन्तको सम्झनामा मनाइने पर्वका रूपमा परिचित छ। दुई दशकअघिदेखि भने समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगी अर्थात् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पनि गाईजात्रालाई उत्सवको रूपमा मनाउन थालेका छन्।
पुरुष र महिलाभन्दा आफूलाई भिन्न पहिचानका रूपमा चिनाउनेहरू आफू अनुकूलका भेषभूषामा स्वतन्त्रतापूर्वक सडकमा निस्कन थालेका छन्। सन् २००३ मा एशियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले गाईजात्रालाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको उत्सवको रूपमा मनाउन शुरु गरे।
पन्तकै नेतृत्वमा चितवन, पोखरालगायत शहरमा समुदायका सदस्यहरू सहभागी भएर गाईजात्रा पर्व मनाउँदै आए। त्यसपछिका वर्षमा भने गाईजात्रा पर्व काठमाडौँमा मात्र सीमित भएको छ।
काठमाडौँको पनि ठमेलदेखि वसन्तपुरसम्म र्याली निकाल्ने, मैनबत्ती बाल्ने, नाचगान हुने गरेकोमा गत वर्षदेखि कीर्तिपुरमा पनि समलिङ्गी तेस्रो लिङ्गीहरूले गाईजात्रा उत्सव मनाउन थालेका छन्।
राज्यका निकायमा सहभागिता सुनिश्चित गर्न माग गर्दै कीर्तिपुरको बाघभैरवदेखि उमामहेश्वर मन्दिरसम्म यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले गाईजात्रा मनाए।
पर्यटकीय क्षेत्र बन्दै गरेको कीर्तिपुरमा समर्पण सभ्य समाज नेपाल र मायाको पहिचान नेपालले संयुक्त रूपमा गाईजात्रा उत्सव मनाए।
समर्पण सभ्य समाज नेपालले तेस्रो लिङ्गी सन्तानका बालबालिकाको शिक्षामा काम गर्दै आएको छ भने मायाको पहिचान नेपाल दक्षिण एशियामै पहिलो इन्द्रेणी विवाह कानुनी रूपमा दर्ता गर्न सफल भएको छ।
माया गुरुङ्ग र सुरेन्द्र पाण्डे समलिङ्गी तेस्रो लिङ्गीको विवाह कानुनी रूपमा दर्ता गर्ने दक्षिण एशिया जगाउने दम्पती बनेका छन्।
अब यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको राजनीतिक समावेशिताका लागि समाजमा सचेतना फैलाउने सन्देश लिएर गाईजात्रा उत्सवमा सहभागी भएको मायाको पहिचान नेपालका उपाध्यक्ष देवेन्द्रबहादुर खत्रीले बताए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८