
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपत्यकाका तीन जिल्ला र चितवनमा राजनीतिक गतिविधि हेर्ने छुट्टै संयन्त्र बनाउने तयारी गरेको छ।
पार्टीमा अहिले विधान संशोधनका लागि छलफल भइरहेको छ। समिति नै बनाएर संशोधनबारे छलफल भइरहँदा उपत्यका र चितवन हेर्नलाई शीर्ष नेतृत्वको मातहतमा रहने संयन्त्र बनाउनुपर्ने कुरा उठेको छ। भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकमा पनि यो विषयले प्रवेश पाएको थियो। पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामान्य छलफल भएको जानकारी दिए ।
‘केन्द्रीय समितिमा अनेक विषय उठ्छन् । उपत्यका र चितवन हेर्ने गरी संयन्त्र विधानमा व्यवस्था गरौँ भनेर कुरा आएका छन्‚’ उनले भने‚‘छलफल पश्चात् उपयुक्त निर्णय लिन्छौँ ।’
रास्वपालाई संसद्को चौथो ठुलो दल काठमाडौँ उपत्यका र चितवन जिल्लाले बनाएको हो। २०७९ को सङ्घीय निर्वाचनमा उपत्यकाबाट ४ र चितवनबाट २ सिट रास्वपाले प्रत्यक्षतर्फ जितेको हो। यस्तै यी जिल्लाबाट समानुपातिकतर्फ अत्यधिक मत पनि पार्टीले पाएको र २१ सिट सहितको दल जनताले बनाएको भन्दै यी दुई क्षेत्रमा पार्टी विशेष रूपमा जोडिनुपर्ने पक्षमा नेताहरू छन्।
चितवन २ को उपनिर्वाचनबाट इतिहास कायम गर्दै पार्टी सभापति रवि लामिछाने सबैभन्दा धेरै मतले विजयी भएपछि पार्टीभित्र काठमाडौँ, ललितपुर, भक्तपुर र चितवनलाई फरक ढङ्गबाट हेरिनुपर्ने विषय उठेको हो ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८