काठमाडौँ। नेपालको सबैभन्दा ठूलो अटो प्रर्दशनी नाडा अटो शो २०२४ यहि भदौ ११ गतेदेखि भव्य रूपमा शुरू हुँदैछ। विशेष गरी अटो शोमा इभि गाडीलाई देख्न सकिन्छ।
राज्यले विधुतीय सवारीलाई प्रोत्साहन गरेपछि इलेक्ट्रिक सवारीसाधनहरूमा ग्राहकहरुको रूचि बढेको देखिन्छ। विश्वमै नेपाल इभि एडप्ट गर्नेमा तेस्रो स्थानमा छ। अटोमोबाइल एशोसिएशन अफ नेपालले पनि इलेक्ट्रिक मोटरहरूलाई बढि प्रोत्साहन गरेको देखिन्छ।
यहीँ भदौ ११ गतेदेखि १६ गतेसम्म १६ औं संस्करणको नाडा अटो शोमा कस्ता-कस्ता गाडीहरू आइपुग्ला भनेर आम उपभोक्ताहरूको चासो मात्र नभइ यसले अर्थतन्त्रलाई समेत चलायमान बनाउँदछ।
नेपालको अटोमोबाइल उद्योगलाई प्रोत्साहित गर्ने उद्देश्यले दुई दशकभन्दा अघिदेखि प्रदर्शनीलाई निरन्तरता दिँदै आएको नाडाले यस बर्ष पनि नाडा अटो शो भदौ ११ गतेदेखि आयोजना गर्ने जनाएको छ।
हरेक बर्ष दशैंअघि हुने नाडा अटो शो गाडी ब्रिकेताहरूका लागि राम्रो अवसर समेत हो। यस शोमा बर्षभरी व्यवसायीले बिक्री गर्ने ६० प्रतिशत गाडी बिक्री हुन्छन्।
आयोजकका अनुसार यस वर्षको प्रदर्शनीमा चार पाङ्ग्रे २४ ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन्।
साथै, ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा छन् भने ७ वित्तीय संस्थाहरूले प्रदर्शनीमा सहभागिता जनाएका छन्।
कुन ब्रान्डले के ल्याउँदैछ?
बीवाईडी
विश्व प्रसिद्ध ईभी ब्राण्ड बीवाईडीले नाडा अटो शोमा नयाँ मोडल पनि सार्वजनिक गर्ने भएको छ। नाडा अटो शोमा बीवाईडीको नयाँ विशेष मोडल आउने तयारी गरिएको कम्पनीले जानकारी दिएको छ। कम्पनीले सार्वजनिक गर्ने लागेको गाडीको नाम एवं अन्य विवरण भने खुलाएको छैन। बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक रहेको छ।
सीजी
अवतार: सीजीले नाडा अटो शो मा नयाँ ईभी ब्रान्ड अवतार (एभटर) सार्वजनिक गर्ने भएको छ। यो गाडी चौधरी ग्रुप र एमएडब्लु ग्रुपको जोइन्ट भेन्चरमा ल्याउने भएका हुन्। चिनियाँ अटो निर्माता चांगन, ईभी ब्याट्री निर्माता सीएटीएल र टेक्नोलोजी कम्पनी हुवावेको संयुक्त उत्पादन अवतार कम्पनीले नेपाल भित्र्याइसकेको छ। यसको मूल्य करिब १ करोड ५० लाख रूपैयाँसम्म पर्नेछ। ९० किलोवाटआवरको ब्याट्री रहेको यो प्रिमियम ईभी गाडीको मोटर पावर २३० किलोवाट छ। यो ब्रान्डको गाडी नाडा अटो शोको स्टल नम्बर एच १३ मा देख्न सकिन्छ।
नेटा एक्स: सीजी मोटर्सले नेटा ईभीको नयाँ मोडल नेटा एक्स पनि अटो सोमा सार्वजनिक गर्ने भएको छ। ५२ किलोवाटआवर र ६२ किलोवाटआवरका दुई ब्याट्री भेरियन्टमा उपलब्ध गाडीको मोटरपावर १०० किलोवाट छ। नेटा एक्सका दुई भेरियन्टको मूल्य ५३ लाख र ६३ लाख रूपैयाँ छ।
रिडारा: सीजीले नयाँ मिडसाइज पिकअप रिड्डारा पनि नाडा अटो शो मा ल्याउँदै छ। यो ब्रान्ड चौधरी ग्रुप अन्तर्गट सिजी मोटर्सले ल्याउन लागेको हो। यसको मोटर क्षमता २०० किलोवाट छ भने ६३ किलोवाटआवर क्षमताको ब्याट्रीले एक पटकको चार्जमा ३८३ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। यो ब्रान्डको गाडी नाडा अटो शोको स्टल नम्बर ए९ मा देख्न सकिन्छ।
टाटा
नाडा अटो सोमा टाटा मोटर्सले नयाँ विधुतीय गाडी पञ्च.ईभी सार्वजनिक गर्ने भएको छ। नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘नाडा अटो शो’ २०२४ मा प्रिमियम प्रोडक्टका रूपमा टाटा पञ्च डट ईभी सार्वजनिक गर्ने भएको हो। ३५ किलोवाटआवरको ब्याट्री र ९० किलोवाट क्षमताको मोटर रहेको पञ्च.ईभी दुई भेरियन्टमा उपलब्ध हुने भएको छ। गाडीले ४२१ किलोमिटर रेन्ज दिने बताइएको छ।
एमएडब्ल्यू
दिपल एल०७: नाडा अटो सोमा चांगन नेपालको दिपल ब्रान्डको नयाँ मोडल दिपल एल०७ सार्वजनिक हुने भएको छ। कम्पनीले प्रिमियम सेडान भनेको गाडीको मूल्य ६९ लाख ९९ हजार रूपैयाँ छ। दिपल एल०७ मा ६२६.८ किलोवाटआवरको ब्याट्री छ भने यसको मोटर पावर ९९ किलोवाट छ। गाडीले ५३० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।
नामी बक्स: एमएडब्ल्यूले डङफेङ ब्रान्डको नामी बक्स ईभी पनि सार्वजनिक गर्ने भएको छ। नाडा अटो शोमै यो नयाँ विधुतीय कार सार्वजनिक गर्ने कम्पनीले जनाएको छ। यसको मूल्य करिब ३९ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। यो ब्रान्डको गाडी नाडा अटो शोको स्टल नम्बर ए ७ मा देख्न सकिन्छ।
पायोनियर मोटोकर्प
पायोनियर मोटोकर्पले नाडा अटो शो मा नयाँ ईभी ब्रान्ड जिकर सार्वजनिक गर्ने बताएको छ। अटो सोमा जिकर एक्सका दुई भेरियन्ट सार्वजनिक हुने भएका छन्। जसमा डुअल–मोटर अल–ह्विल ड्राइभ (एडब्ल्यूडी) र सिंगल–मोटर रियर–ह्विल ड्राइभ (आरडब्ल्यूडी) भेरियन्ट रहेको छ। ६६ किलोवाट आवरको ब्याट्री रहेको गाडीले ४४० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। यो ब्रान्डको गाडी नाडा अटो शोको स्टल नम्बर एच १५ मा देख्न सकिन्छ।
सांग्रिला मोटर्स
नाडालाई नै लक्षित गर्दै सांग्रिला मोटर्सले नयाँ ईभी ब्रान्ड लिपमोटर सार्वजनिक गर्ने भएको छ। कम्पनीका अनुसार लिपमोटरको टी ०३ र सी १० मोडल नाडा अटो सोमा सार्वजनिक हुनेछ। यो जीप जस्तो गाडी उत्पादन गरिरहेको स्टेलान्टिसको स्वामित्वमा रहेको स्टार्टअप कम्पनी हो।
पारामाउन्ट
एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपालमा एमजीको नयाँ ईभी मोडल सार्वजनिक गर्ने भएको छ। कम्पनीले इलेक्ट्रिक स्पोर्टकार भनेको यो गाडी नाडा अटो सोमा सार्वजनिक हुने भएको हो। कम्पनीले सो गाडीको मूल्य १ करोड ६७ लाख ९९ हजार रूपैयाँ तोकेको छ। साइबरस्टरमा २५० किलोवाट क्षमताको मोटर पावर छ। यस्तै, यसमा ७७ किलोवाट क्षमताको ब्याट्री प्याक उपलब्ध रहेको र ब्याट्री सिंगल चार्जमा ५०७ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।
जी मोटर्स
जी मोटर्सले स्काइवेलको ई११ ईभी नेपालमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले यो गाडी ४१० किलोमिटर रेन्ज र ५२० किलोमिटर रेन्ज गरी दुई भेरियन्टमा उपलब्ध हुने बताएको छ। कम रेन्जमा ५८ किलोवाटआवर र माथिल्लो रेन्जमा ७१ किलोवाट आवरको ब्याट्री छ। १५० किलोवाट मोटर पावरके रहेको गाडीको मूल्य र थप विवरण नाडा अटो शो मै सार्वजनिक हुने जी मोटर्सले जनाएको छ।
भित्रिए ३८० वटा इभि
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना अर्थात् साउनमा ३ सय ८० वटा विधुतीय सवारी भित्रिएका छन्। भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार एक महिनामा ८९ करोड ७० लाख २१ हजार रूपैयाँ बराबरको ३८० वटा विधुतीय सवारी (कार, भ्यान, जिप) भित्रिएका हुन्।
सुरूवाती महिनामा ३८० वटा विधुतीय गाडी आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। जसबाट राज्यले कूल ५२ करोड १८ लाख २७ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। यस्तै, गत आर्थिक बर्ष २०८०/८१ मा ऐतिहासिक १३ हजार बढी विधुतीय गाडी आयात भएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८