काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषद्को राष्ट्रिय भेला आजदेखी सुरू हुँदैछ। आज र भोलि काठमाडौँको प्रज्ञाभवन कमलादीमा हुने भेलामा देशभरबाट एक हजार ५०० प्रतिनिधि सहभागी हुँदैछन्।
राष्ट्रिय भेलाको शुभारम्भ पार्टी सभापति रवि लामिछानेले गर्नेछन्। उद्घाटन अघि प्रज्ञाभवनमा सामूहिक विश्वकर्मा पूजा गरिँदैछ। आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ। आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेस गरिनेछ। आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ।
भोलि प्रस्तुत गरिने सबै प्रतिवेदन र प्रस्ताव माथि समूहगत छलफल हुनेछ। भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपराह्न सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला भोलि नै सकिने रास्वपाले जनाएको छ।
भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको छ। राष्ट्रिय भेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन रास्वपाले पार्टी पङ्क्तिलाई आग्रह गरेको छ। पार्टीलाई थप सुदृढ र जनपक्षीय बनाउन भेला सफल हुने विश्वास लिइएको रास्वपाले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८