काठमाडौँ। एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरू भएको छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सम्मेलनको आज उद्घाटन गरे। एसियाली देशका सुरक्षण संस्थाको ३६ औँ सम्मेलन (एसिक कन्फ्रेन्स) मा ती देशका सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ। उक्त सम्मेलन नेपालले ३० वर्षपछि आयोजना गरेको हो।
सम्मेलन उद्घाटनमा अर्थमन्त्री पौडेलले वित्तीय प्रणालीमा जनविश्वासको सर्वाधिक महत्व हुने उल्लेख गर्दै वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरूरी रहेको बताए।
उनले कुनै कारणले बैंक तथा वित्तीय संस्था समस्याग्रस्त हुन पुगेमा साना निक्षेपकर्ताको सम्भावित क्षति संरक्षण गर्न र वित्तीय प्रणालीमा रहेको जोखिम न्यूनीककरण गर्न थप विश्वसनीय बनाउन निक्षेप तथा कर्जा सुरक्षण कोषको भूमिका ठूलो रहने उल्लेख गरे।
मन्त्री पौडेलले नविन सोच तथा प्रविधिमा आधारित नवप्रवर्तन व्यवसायलाई वित्तीय पहुँच सुनिश्चित गर्न संस्थागत सुरक्षणको प्रबन्ध अत्यावश्यक हुने बताए।
उनले भने, “सरकारले नवप्रवर्तनका लागि ‘इकोसिष्टम’ विकास गरी उद्यमशील वातावरण सृजना गर्न सहजीकरण र नियमनका लागि आवश्यक प्रबन्ध मिलाएको छ। बजेटमार्फत रू १ अर्बको नेपाल स्टार्टअप कोषको स्थापना गरी सञ्चालनमा ल्याइएको छ।”
सुरक्षण सेवाका कारण साना व्यवसाय सफल भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बचत गर्ने संस्कारको विकास भई पुँजी परिचालमा पनि सहयोग पुगेको बताए।
उनले आर्थिक विकासका लागि बचतलाई प्रोत्साहित र कर्जाको सहज पहुँच विस्तार गर्न जरुरी रहेको बताए। कर्जा परिचालन र फिर्ताको सुनिश्चितताका लागि कर्जा सुरक्षण कोषको स्थापना भएको स्मरण गर्दै उनले त्यसबाट महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरे।
उनले सोही समारोहमा निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१औँ वार्षिकोत्सवको समेत उद्घाटन गरेका थिए।
एसिक सम्मेलन सोमबारसम्म चल्ने छ। मन्त्री पौडेलले सम्मेलनले आपसी बलियो अन्तर्राष्ट्रिय संस्थागत सञ्जाल निर्माण हुँदा कर्जासम्बन्धी जिम्मेवार संस्थाको क्षमता अभिवृत्ति हुनेमा विश्वास व्यक्त गरे। सो सम्मेलनले कर्जा सुरक्षाका लागि रचनात्मक सुधारमा सहयोग पुग्ने पनि उनले बताए।
उक्त सम्मेलनमा विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण निकायका प्रतिनिधिले आफ्नो अनुभव राख्नेछन्। सम्मेलनमा नेपालसहित, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ देशका प्रतिनिधिहरूको सहभागिता रहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८