काठमाडौँ। सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ। आज बिहान ३ः०० बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रूमले जनाएको छ।
यसअघि कोशी ब्यारेज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड सात लाख ८८ हजार दुई सय क्युसेक मापन गरिएको थियो। शनिबार बेलुका १०ः२५ बजे सप्तकोशीको पानीको बहाव प्रतिसेकेण्ड ६ लाख २० हजार क्युसेक मापन गरिएको थियो।
कोशी ब्यारेज कन्ट्रोल रूमले गए राति ११ बजे दिएको जानकारीअनुसार जलसतह खतरा तहभन्दा ११ दशमलव २६ मिटरमाथि पुगिसकेको र अझ बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको जनाएको छ। पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजको सबै ५६ ढोका खोलिएका छन्।
सप्तकोशी नदी जलसतह खतरा तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तरीका बाढीबाट कटान हुनसक्ने क्षेत्र तथा डुबान हुने होचा भूभागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ। लगातार पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेज भएर मानिस र सवारीसाधनलाई अर्को सूचना जारी नभएसम्मका लागि आवागमन बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।
शनिबार बिहान ६ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले प्रतिसेकेन्ड ३ लाख ३६ हजार १० क्युसेक पानीको बहाव मापन गरेको थियो। नदीमा पानीको बहाव बढेर शनिबार साँझ ८ः०० बजे प्रतिसेकेन्ड ४ लाख १८ हजार २ सय ८५ क्युसेक, शनिबार राति १२ः०० बजे प्रतिसेकेन्ड ५ लाख ७ हजार ६ सय ९० क्युसेक तथा आज बिहान २ः०० बजे प्रतिसेकेन्ड ६ लाख ३२ हजार २८५ क्युसेक पानीको बहाव मापन गरिएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८