काठमाडौँ। आगामी मङ्सिर २१ गते जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको तयारी तीव्र गतिमा शुरू भएको छ।
विवाहपञ्चमीलाई व्यवस्थित, प्रभावकारी र आकर्षक बनाउन प्रचारप्रसारका साथै योजनाबद्ध रूपमा विभिन्न कामहरू शुरू भइरहेको छ।
मङ्सिर २१ गते मार्गशुक्ल पञ्चमी तिथिमा हुने स्वयंवर र वैवाहिक कार्यक्रम एवं त्यसअघिका विवाहपूर्वका विधिविधानमा सहभागी हुन लाखौँको सङ्ख्यामा जनकपुरधाममा आउने श्रद्धालुभक्तजन र साधुसन्तका लागि बास, शौचालय, खानेपानी, सुरक्षा तथा अन्य सेवा व्यवस्थापनका विषयमा तयारी भइरहेको छ।
विवाहपञ्चमी महोत्सवका लागि जनकपुरधाममा विभिन्न पाँच ठाउँबाट ‘डिस्प्ले’का माध्यमबाट महोत्सवबारे जानकारी, महोत्सवका दृश्य विनिमय तथा अवलोकन गराउने, ठाउँठाउँमा प्राथमिक उपचारसहितको स्वास्थ्य शिविर राख्ने, बिरामी तथा चोटपटकका सिकार हुनेको उद्धार तथा उपचारका लागि एम्बुलेन्स तथा निजी एवं सरकारी अस्पतालमा निःशुल्क उपचारका लागि शैय्या व्यवस्था तथा ट्रमासेन्टर सञ्चालन गरिने भएको छ।
औषधिसहित रेपिड रेस्पोन्स टिम परिचालन गर्ने, विभिन्न स्थानमा खाने तथा अन्य प्रयोजनका लागि पानीको आपूर्ति मिलाउने, अघिल्ला वर्षभन्दा बढी सङ्ख्यामा सफाइकर्मीसहित शौचालय व्यवस्थापन गर्ने, सडक बत्तीको व्यवस्थापन गर्ने र सिसिटिभी तथा ड्रोनबाट संवेदनशील ठाउँका गतिविधि निगरानी गर्नेलगायत अन्य कार्यको तयारी भइरहेको जनाइएको छ। महोत्सव तयारीका लागि कामको बाँडफाँट भैसकेको छ।
विवाहपञ्चमीका लागि जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा बसेको बैठकमा विवाहपञ्चमी महोत्सवलाई भव्य एवं व्यवस्थित बनाउन तीनै तहका सरकारले गर्नुपर्ने कार्यका बारेमा निर्णायक छलफल भएको थियो।
गत बिहीवारको बैठकमा तीनै तहका सरकारले दोहोरो नहुने गरी मितव्ययी ढङ्गले महोत्सवको व्यवस्थापकीय सहकार्य गर्ने विषयमा छलफल भएको जनाइएको छ।
विवाहपञ्चमी महोत्सव वैवाहिक कार्यक्रमका लागि उपयोग हुने जानकी मन्दिर परिसर, बाह्रबिघा र मणिमण्डप क्षेत्र तथा त्यहाँसम्मका बाटोमा भीड व्यवस्थापन, पसल सञ्चालन र सरसफाइलगायत कार्यमा बढी जोड दिइने छ।
महोत्सवका लागि सुरक्षा निकायले संयुक्त कार्ययोजनाका आधारमा सयौँको सङ्ख्यामा सादा पोसाक सहितका सुरक्षाकर्मी परिचालन गर्नेछन्।
वैवाहिक कार्यक्रममा अयोध्याबाट आउने ५ सयभन्दा बढी जन्तीको आवास तथा भोजनका लागि विशेष व्यवस्था मिलाउने तयारी भइरहेको छ।
नेपाल र भारतका विभिन्न स्थानबाट दर्शन गर्न आउने भक्तजनलाई कुनै प्रकारको असुविधा नहुन दिन जानकी मन्दिर व्यवस्थापनले जोड दिएको जनाएको छ। यसका साथै जनकपुर सडक डिभिजन कार्यालयले जनकपुर नगरभित्रका सडक मर्मतसम्भार अगाडि बढाएको छ।
विवाहपञ्चमीमा अयोध्याबाट आउने जन्तीका लागि महोत्तरीका मटिहानी र जलेश्वर नगरपालिका तथा पिपरा गाउँपालिकाले जन्तीको स्वागत, खानपान र आवाससहितको प्रबन्ध गर्न तयारी थालेको छ।
मङ्सिर शुक्लपक्ष्मीका दिन मनाइने रामजानकीको विवाह महोत्सवको मध्य विवाहको विधि भने यसपाली मङ्सिर २१ गते शुक्रवार परेको छ। त्रेतायुगमा भएको रामजानकी विवाहलाई जीवन्त राख्न जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी पर्व मनाउने गरिन्छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८