काठमाडौँ। नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन्।
बुधवार ललितपुरको सातदोबाटो स्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन्। उनले नयाँ स्टक एक्सचेन्जका धेरै काम अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताए। उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको उल्लेख गरे। उनले धितोपत्र बोर्डको अध्यक्ष विहीन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारीमा आफू आएको भन्दै बोर्डमा ठूलो जिम्मेवारी र चुनौती रहेको बताए।
उनले पुँजीबजारमा रहेका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसाबले प्राथमिकतामा राखेर पुँजीबजार विकासको काम गर्ने बताए। उनले बोर्डमा नेतृत्वको अभावमा अड्किएका काम अगाडि बढाउने बताए। अध्यक्ष श्रेष्ठले पुँजीबजारको भूमिका र दायरा बढाउँदै लैजानुपर्ने स्पष्ट पारे। उनले आफ्नो कार्यकालमा शेयर लगानीकर्ताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। उनले पुँजीबजारले मुलुकको अर्थतन्त्रमा गर्ने योगदान धेरै रहेको भन्दै त्यसको सदुपयोग गर्न कोसिस गर्ने बताए।
उनले भने,‘धितोपत्र बोर्डमा ठूलो जिम्मेवारीका साथ आएको छु। चुनौती धेरै छ। नेतृत्वको अभावमा अड्किएका काम त्यत्तिकै छन्। मैले विशेष गरेर पुँजीबजारको भूमिका र दायरा बढाउँदै लैजानुपर्छ। लगानीकर्ताहरूको सुरक्षा पहिलो प्राथमिकता हो। पुँजीबजारले मुलुकको अर्थतन्त्रमा गर्ने योगदान धेरै छ। आइपीओ जारी गर्न अनुमति दिने नियमित काम हो। प्रक्रियाबाट अगाडि बढ्छ।’
उनले लामो समयदेखि रोकिएको आइपीओ समयमै आउने गरी काम गर्ने जानकारी दिए। उनले आफ्नो यही कार्यकालमा सेबोन आफ्नै भवनमा सर्ने पनि दाबी गरे। उनले पुँजीबजारको विकासमा सबै सरोकारवाला निकायसँगको सहकार्यमा लाग्ने र पुँजीबजारलाई समयसापेक्ष अगाडि बढाउने उल्लेख गरे। अध्यक्ष श्रेष्ठले एभरेष्ट बैंकलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिने पहिलो निर्णय गरेका छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८