
काठमाडौँ। नेपाल एप्लाइड म्याथमेटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट (नामी) ले बुधवार एनुअल नेपाल एआई स्कूल (एएनएआईएस) को पाँचौं संस्करण सञ्चालन गर्ने भएको छ।
बुधबार पत्रकार सम्मेलन गर्दै पुस १२ गतेदेखि २३ पुससम्म ललितपुरमा अवस्थित प्रिमियर इन्टरनेसनल कलेजमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो। यो प्रतिष्ठित कार्यक्रमको पाँचौं संस्करण आर्टिफिसियल इन्टिलिजेन्सको आधार र कार्यान्वयनहरूमा केन्द्रित रहेको छ।
संसारभरबाट वैज्ञानिक, प्राध्यापक, र सहभागीहरूलाई एआईसम्बन्धी गहन व्याख्यान, प्रयोगशाला, र परियोजना कार्यका लागि एकै ठाउँमा ल्याउने एएनएआईएस दक्षिण एशियाकै सबैभन्दा ठूलो र सबैभन्दा पृथक मञ्च भएको दाबी गरिएको छ।
नामीका अनुसार यो एएनएआईएसले आधारभूतदेखि आधुनिक विचार र विधिहरूसम्मका विषयवस्तु तथा अनुप्रयोगहरूलाई समेट्नेछ।
यस कार्यक्रममा कम्प्युटर विज्ञानका स्नातक, स्नातकोत्तर, र पीएचडी तहका २०० विद्यार्थी तथा एआई क्षेत्रमा काम गर्ने प्रोफेस्नलहरू सहभागी हुन सक्नेछन्। बिगत चार संस्करणमा ४० भन्दा बढी देशका ५५० भन्दा बढी विद्यार्थीहरूले यस कार्यक्रममा भाग लिएका छन्।
“सानो ठाउँबाट ठूला परिवर्तन आउनसक्छ,” भन्ने मान्यतामा आधारित यस वर्षको एआई स्कूलले नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थी तथा एआई अभ्यासकर्ताहरूलाई विश्वस्तरमा भइरहेको अत्याधुनिक विकाससँग परिचित गराउने लक्ष्य राखेको छ।
विश्वभरका २५ जना वैज्ञानिक र प्राध्यापकहरूले तीन मुख्य क्षेत्र – जीयोमेट्रिक डिप लर्निङ्ग, आधारभूत मोडेल र अनुप्रयोग,रमोर्डन प्राक्टिसेजमा भौतिकरूप कक्षाहरू सञ्चालन हुनेछन्।
नामीका अनुसार यो कार्यक्रम दक्षिण एशियामा उत्कृष्ट अन्तराष्ट्रिय विशेषज्ञहरूबाट सिक्ने र अन्तरक्रिया गर्ने सुनौलो अवसर हो। नेपालमा एआईको उपयोग गर्ने सरकारको योजना र एआई नीतिको तयारी भइरहेको अवस्थामा, यो कार्यक्रमले आवश्यक छलफल सिर्जना गर्न र नेपालमा एआई विशेषज्ञता निर्माण गर्न मद्दत पुर्याउनेछ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८