काठमाडौँ। आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस। नेपालमा ‘पृथकतामा एकताः क्यान्सर भोगाइका कथाहरू’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदैछ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार क्यान्सरले गराउने कुल मृत्युको करिब एक तिहाइ सुर्तीजन्य पदार्थको सेवन, मदिरा सेवन, असन्तुलित आहारका कारण र नियमित व्यायामको कमीले हुने गरेको छ। बाँकी क्यान्सरका कारणमा विकिरणको प्रभाव, वातावरणीय प्रदूषणका साथै अन्य सङ्क्रमण रहेका छन्। क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन्।
सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको चिकित्सकहरूको भनाइ छ। क्यान्सरका चार चरण हुन्छ र शून्यदेखि तेस्रो चरणसम्मको क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिन्छ भने चौथो चरणकोलाई पनि नियन्त्रण गर्न सकिन्छ। क्यान्सर एक ठाउँबाट सरेर अर्को ठाउँमा गयो भने खतरनाक हुने चिकित्सकहरूको भनाइ छ।
क्यान्सरको उपचारमा नेपाल विश्वको तुलना सस्तो रहेको भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले बताए। उनका अनुसार सरकारी अस्पतालमा ४० देखि ५० हजारसम्ममा क्यान्सरको शल्यक्रिया हुन्छ। त्यही उपचार निजी अस्पतालमा गर्दा ५ लाख रूपैयाँसम्म लाग्ने उनले बताए।
सन् २०२० को तथ्याङ्क अनुसार क्यान्सरले नेपालमा १६ हजार ६२९ जनाको मृत्यु भएको थियो। नेपालमा फोक्सो, पाठेघर, मुख, स्तन, पेट र आन्द्राको क्यान्सर मुख्य रहेका छन्।
क्यान्सर रोकथामसम्बन्धी सरकारका कार्यक्रम
क्यान्सर रोगसम्बन्धी जनचेतनाका कार्यक्रमका साथै सरकारले क्यान्सर पीडितलाई लक्षित गरेर विभिन्न कार्यक्रम अगाडि सारेको छ। सरकारले विपन्न नागरिक औषधि उपचार कोषबाट क्यान्सर पीडितका लागि रू १ लाखसम्मको औषधि उपचारको व्यवस्था गरेको छ भने प्रदेश सरकारले पनि थप रू १ लाखसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ।
नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’मा सहभागिता जनाई आगामी चार वर्षसम्म ३५ प्रकारका क्यान्सरका आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८