
काठमाडौँ। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा रु २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको हो।
गत आ.व.को दुई महिनाको तुलनामा चालु आ.व.को दुई महिनामा उक्त नाका हुँदै रु १ अर्ब ७६ करोड बढीको पेट्रोलियम पदार्थ आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएकाे छ।
सो अवधिमा आयात बढेसँगै रु १ अर्ब २९ करोड बढी राजस्व समेत सङ्कलन भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार यहाँको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन आयात रहेको छ।
गत आ.व.को दुई महिनाको अवधिमा पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले रु ९ अर्ब ८९ करोड राजस्व सङ्कलन गरेको थियो। त्यस्तै चालु आ.व.को दुई महिनामा पेट्रोलियम पदार्थबाट रु ११ अर्ब १८ करोड सङ्कलन भएको छ।
चालु आ.व.को दुई महिनामा रु ११ अर्ब ९१ करोडको १ लाख ३२ हजार ८ सय २४ किलोलिटर डिजेल आयात गरिँदा रु ५ अर्ब २८ करोड राजस्व सङ्कलन भएको छ। गत आ.व.को सोही अवधिमा रु १० अर्ब ४५ करोड मूल्यको डिजेल आयात हुँदा रु ४ अर्ब ५१ करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
चालु आ.व.को दुई महिनामा रु ६ अर्ब ८२ करोडको ८० हजार पाँच सय ६० किलोलिटर पेट्रोल आयात हुँदा कार्यालयले रु चार अर्ब ५४ करोड राजस्व सङ्कलन गरेको छ। गत आ.व.को सोही अवधिमा भने रु ६ अर्ब ४० करोडको ६९ हजार ६ सय ४७ किलोलिटर पेट्रोल आयात हुँदा रु तीन अर्ब ९९ करोड राजस्व सङकलन भएको थियो।
त्यस्तै चालु आ.व.को दुई महिनामा रु पाँच अर्ब १२ करोडको ४ करोड ९५ लाख ६६ हजार ६ सय ६४ किलो एलपी ग्याँस आयात हुँदा रु ९६ करोड राजस्व सङ्कलन भएको छ।
गत आ.व.को सोही अवधिमा भने रु ५ अर्ब ३६ करोडको चार करोड ९७ लाख ५५ हजार एक सय ९४ किलो एलपी ग्याँस आयात हुँदा रु १ अर्ब राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८