
काठमाडौँ। निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा सीधा उडान पुनः सुरू गर्ने भएको छ।
कम्पनीले अन्तर्राष्ट्रियतर्फको दोस्रो उडान भारतको पश्चिम बङ्गालको राजधानी कोलकाता’ कात्तिक २ १९ अक्टोबरबाट पुनः सुरू गर्ने भएको हो। कोलकाता–काठमाडौँको सीधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर एकमात्र नेपाली विमान सेवा कम्पनी हो।
अहिले यो रुटमा हवाई उडान गर्नेमा पनि बुद्ध एयर एकमात्र हो। सुरूमा साताको ३ दिन आइतबार, मङ्गलबार र बिहीबार उडान सञ्चालन गर्ने कम्पनीको योजना छ। काठमाडौँबाट बिहान ७:०० बजे र कोलकाताबाट स्थानीय समय ९:२० बजे उडान हुनेछ।
कोलकाता उडान एटीआर–७२ जहाजबाट गर्नेछ। यस रुटको उडान अवधि लगभग एक घण्टा ३५ मिनेटको हुनेछ। यात्रुको एकतर्फी भाडा रु. १३ हजार ३५३ तोकिएको छ। घुम्न रुचाउनेका लागि पर्यटकीय र धार्मिक प्याकेज पनि समावेश गरिनेछ।
बुद्ध एयरले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थल भ्रमणका लागि ‘आउटबाउन्ड’ तथा भारतबाट नेपालका विभिन्न स्थानको भ्रमणका लागि ‘इनबाउन्ड होलिडे प्याकेज’ पनि सञ्चालन गरिरहेको छ। नेपाली यात्रुहरूलाई कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गङ्गा सागर लगायतका भ्रमण प्याकेज सञ्चालनमा आउनेछन्।
यी प्याकेजहरू बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले सञ्चालन गरिरहेको छ। कोलकाता उडानमार्फत भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुद्ध एयरले लिएको छ। उडान तथा होलिडे प्याकेजमार्फत भारतीय धार्मिक तथा पर्यटकीय यात्रुलाई नेपाल भित्र्याई पर्यटन प्रवर्धनमा टेवा पुर्याउने विश्वास बुद्ध एयरको रहेको छ। बुद्ध एयरले देशका विभिन्न भागमा दिनहुँ ६ दर्जनभन्दा बढी उडान भरिरहेको छ।
अन्तर्राष्ट्रियतर्फ बुद्ध एयर भारतको वाराणसीमा साताको सोमबार, बुधबार र शुक्रबार उडान भरिरहेको छ। यसअघि बुद्ध एयरले वि.सं. २०७६ को वैशाख २ गतेदेखि कोलकाता उडान भरेको थियो। कोभिड महामारीका कारण मङ्सिर १६ गतेदेखि सो उडान तत्कालको लागि स्थगन गरेको थियो।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८