
काठमाडौँ। साझा यातायातले दशैंका लागि लक्षित गरी काठमाडौँ-नारायणगढ-काठमाडौँ बस सेवा सञ्चालन गर्ने घोषणा गरेको छ।
दशैंको बेला यात्रुहरूको चाप हुने भएकाले असोज ७ गतेदेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म काठमाडौँबाट चितवनको नारायणगढ र त्यहाँबाट काठमाडौँ फर्किने गरी बस सेवा सुरू गरेको हो।
काठमाडौं–नारायणगढसम्मको एकतर्फी भाडा ३ सय रुपैयाँ मात्रै तोकिएको साझा यातायात सञ्चालक समितिले जनाएकाे छ। यो भाडा अन्य सवारी साधनको तुलनामा झण्डै आधा सस्तो हाे।
साझा यातायात सहकारी संस्थाका अनुसार ललितपुरको पुल्चोकबाट लगनखेल, सातदोबाटो, कोटेश्वर, गौशाला, चक्रपथ, गोंगबु नयाँबसपार्क हुँदै कलंकीबाट बसहरू नारायणगढ प्रस्थान गर्ने छन्।
कलंकीबाट साझा यातायातको पहिलो बस बिहान ७ बजे नारायणगढ प्रस्थान गर्ने छ। त्यसपछि क्रमश: ८, ९, १०, ११ र १२ बजे प्रत्येक एक घण्टाको अन्तरालमा बसहरू नारायणगढ प्रस्थान गर्ने छन्।
नारायणगढ पुगेपछि ती बसहरू यात्रुहरू लिई नारायणगढ बसपार्कबाट पुल्चोक हुँदै काठमाडौँ फर्किनेछन्। यात्रा गरेवाफत यात्रुहरूले एकतर्फी भाडा ३०० रुपैयाँ बुझाई अनिवार्य रूपमा साझा यातायातको टिकट लिनुपर्ने छ।
यात्रुहरुलाई सिटमा बाहेक उभिएर वा मुढामा राखेर यात्रा नगराउने साझा यातायात सहकारी संस्थाले जनाएको छ। साझा यातायातका यात्रुहरूलाई अनिवार्य रुपमा टिकट लिएर यात्रा गर्न भनिएको छ। अन्यथा प्रचलित नियम कानून बमोजिम कारबाही हुनेछ।
यात्रुहरुले टिकट लिए/नलिएको वा बसवालाले टिकट दिए/नदिएकोबारे ठाउँ–ठाउँमा अनुगमनको व्यवस्था मिलाइएको साझा यातायातले जनाएको छ।


नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८