
काठमाडौँ। बडादसैँको अवसर पारेर फूलपाती अर्थात् यही असोज १३ गतेदेखि तीन चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन्।
दसैँको बिदा भए पनि ३ वटै चलचित्रले घरेलु बजारमा अपेक्षा गरे अनुसार व्यापार भने गर्न सकेका छैनन्।
चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ ले असोज २० गते राती ११ बजेर ५५ मिनेटसम्म रु ३ करोड ७५ लाख ५३ हजार २५१ व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क छ। उक्त चलचित्रले १ लाख १९ हजार ५६१ टिकट बिक्री भएवापत उक्त व्यापार गरेको हो। सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारको अभिनय रहेको छ।
यस्तै अभिनेता हरिवंश आचार्यको शीर्ष भूमिका रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले रु ३ करोड २१ लाख ७० हजार १६० व्यापार (ग्रस कलेक्सन) गरेको छ। यसका ९० हजार ९४७ टिकट बिक्री भएका छन्। दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन्।
फूलपातीकै दिनमा प्रदर्शनमा आएको चलचित्र ‘माइतीघर’ ले सबैभन्दा कम रु २ करोड १३ लाख ६४ हजार ६९२ व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क चलचत्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा छ। उक्त चलचित्रको ६८ हजार ३२ टिकट बिक्री भएवापत सो व्यापार भएको हो। रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशन गरेको यस चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारले अभिनय गरेका छन्।
पछिल्ला वर्षमा दसैँमा नेपाली चलचित्रको व्यापार राम्रो भएको पाइएपछि यो दसैँमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन्। बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुनेक्रम बढेको चलचित्रकर्मीको भनाइ छ। यद्यपि व्यापारको तथ्याङ्क हेर्दा अघिल्लो दसैँको तुलनामा यसपटक चलचित्रहरूको व्यापार भने उत्साहजन हुनसकेको छैन।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८