
काठमाडौँ। प्यालेस्टिनी सशस्त्र समूह हमासले कब्जामा राखेका नेपाली युवा विपिन जोशीको मृत्यु पुष्टि भएको छ।
हमासको सशस्त्र शाखा अल–कसम ब्रिगेड्सले सोमबार एक विज्ञप्ति जारी गर्दै जोशी सहित चार जना बन्दीहरूको मृत्यु भएको र उनीहरूको शव आजै इजरायललाई हस्तान्तरण गरिने जानकारी दिएको हो। विज्ञप्तिमा मृतकको नाम विपिन जोशी, गाइ इलुज, योसी शाराबी र ड्यानियल पेरेजको रूपमा उल्लेख गरिएको छ।
शव हस्तान्तरणको यो प्रक्रिया इजरायल र हमासबीच भएको पछिल्लो सम्झौताअनुसार गरिएको बताइएको छ। सम्झौताको अनुसार, इजरायलले केही प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ भने, जवाफमा हमासले कब्जामा रहेका मृतक बन्दीहरूको शव फिर्ता गर्नेछ।
विपिन जोशी सुदूरपश्चिम नेपालको अछाम जिल्लाका बासिन्दा थिए। उनी अध्ययनका सिलसिलामा इजरायल गएका थिए र हमासले गत वर्ष अक्टोबरमा इजरायलमा गरेको भीषण आक्रमणका क्रममा उनी हराएका थिए।
यसअघि हमासले गाजामा रहेका सबै २० जीवित बन्दीहरूलाई रिहा गरिसकेको छ। तर अझै पनि केही मृत इजरायली बन्दीहरूको शव उसकै नियन्त्रणमा रहेको बताइएको छ।
इजरायली अधिकारीहरूले सम्झौताअनुसार हमासले सबै मृतकहरूको शव फिर्ता गर्नु पर्ने बताएका छन्। नेपाली पक्षले पनि विपिनको अवस्थाबारे निरन्तर चासो देखाउँदै आएको थियो।
अब विपिनको शव हस्तान्तरण भएपछि आवश्यक प्रक्रियापछि नेपाल ल्याइने अपेक्षा गरिएको छ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८