
काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीका लगाउन उत्तम समय रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएकाे छ।
समितिका अनुसार धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तको शुभ साइत दिइएको छ।
राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेकाे समितिले जनाएकाे छ।
यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुनेछ। सो दिन यमदीप दान, धन त्रयोदशी र धनतेरस पर्व मनाइने छ। कात्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती पर्व मनाइने समितिले जनाएको छ।
कात्तिक ३ गते सोमबार नरक स्नानसहित कुकुर तिहार, बेलुकी लक्ष्मीपूजा र दीपमालिका परम्परागत रूपमा सम्पन्न हुनेछन्। औँसी तिथि अनुसार स्नान र दान कात्तिक ४ गते मङ्गलबार बिहान गर्नुपर्ने जानकारी पनि समितिले दिएको छ।
नेवार समुदायले गर्ने गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ५ गते बुधबार सम्पन्न हुने छ। यस दिन नेपाल संवत् अनुसार नयाँ वर्ष पनि मनाइने छ र यसै दिनदेखि नेपाल संवत् ११४६ सुरू हुनेछ।
भाइटीका र नेवारी भाषामा भनिने किजापूजा कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा हुने छ। शास्त्रसम्मत् रूपमा दाजुभाइलाई ज्येष्ठको क्रमानुसार टीका लगाउनु पर्ने व्यवस्था रहेको समितिले जनाएको छ।
यमपञ्चक पर्वमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमदीप दान गर्ने परम्परा छ। यस क्रममा काग र कुकुरलाई यमदूतका रूपमा मिठा परिकार दिनु पर्छ, जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिन्छ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८