
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
धादिङको थाक्रे गाउँपालिकाको महादेवेसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै उनले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताएका हुन् ।
संयोजक प्रचण्डले देश सङ्कटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै सङ्कटको अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा उभिएको बताए ।
“हाम्रो पार्टी नै जेन्जी आन्दोलन सुरू हुनुभन्दा पहिले नै उनीहरूको मागलाई समर्थन गर्ने पहिलो पार्टी हो,” उनले भने, “जेनजी आन्दोलनलाई समर्थन मात्र होइन, उनीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो भन्ने प्रमाणित भएको छ ।”
सरकारमा बस्दा जेन्जीहरूलाई दमन गर्ने र जेन्जीमा माग र एजेण्डालाई समर्थन गर्दै आइरहेको पार्टी एउटै नभएको बताउँदै उनले थपे, “सरकारमा बसेर जेन्जीहरूलाई दमन गर्ने र सडकमा जेन्जीका मागलाई सम्बोधन गर्नुपर्छ भन्ने पार्टी सबै एउटै हुन भनेर एकथरी मानिसहरूले प्रचार गर्ने गरेका छन् । हामी उनीहरू जस्तै होइनौँ । माओवादी केन्द्रले गरेका काम हेर्ने हो भने जेनजीहरूको असली नेतृत्व र पार्टी माओवादी केन्द्र हो ।”
निर्वाचन नहुने हो कि नहुने भन्ने आशंका होइन निवार्चन गराउने गरी भुमिका खेल्न आग्रह गर्दै उनले भने, “निर्वाचन हुँदैन कि भनेर दुविधामा बस्नु हुँदैन । निर्वाचन घोषणा गरिसकेको छ, अब हाम्रो पार्टी त्यसका लागि तयारीमा लाग्नुपर्छ ।”
पाँच वटा पार्टीसँग चाँडै एकता प्रक्रिया अघि बढ्ने सङ्केत पनि दिंदै प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठकबाट जेन्जीका मागअनुसार नै नेतृत्व तहमा युवाहरूलाई ल्याउने नीतिगत निर्णय भइसकेको उल्लेख गरे । पार्टीलाई समयअनुसार पुनर्संरचना गर्दै लैजाने प्रतिबद्धता समेत जनाए ।
जेनजीका माग र माओवादी केन्द्रले संविधान निर्माणको समयदेखि उठाएका ऐजेण्डा एउटै भएको बताउँदै देश अहिले माओवादी केन्द्रले अगाडि सारेका एजेण्डाहरूअनुसार अघि बढेको उनले बताए । साथै अबको नेतृत्व पनि माओवादी केन्द्रले लिनुपर्नेमा उनले जोड दिए ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८