
काठमाडौँ। नेपाल वायुसेवा निगमले काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ सेक्टरमा गरेको व्यावसायिक उडान उत्साहजनक देखिएको जनाएको छ ।
निगमको नियमित उडान तालिका अनुसार १६ अक्टोबर २०२५ मा काठमाडौं–ग्वाञ्जाओ उडान (आरए–४१७) ग्वाञ्जाओको स्थानीय समयानुसार बिहान ठिक ५ बजे १३८ जना यात्रुसहित सफलतापूर्वक सम्पन्न भएको हो ।
उक्त उडानमा २७ जना नेपाली नागरिक, २९ जना चिनियाँ, ६१ जना भारतीय र अन्य २२ देशका १११ जना विदेशी नागरिक रहेका थिए । तीमध्ये ६ जना बिजनेस क्लास र १३२ जना इकोनोमी क्लासका यात्रु थिए ।
त्यसैगरी, १७ अक्टोबर २०२५ मा सम्पन्न ग्वाञ्जाओ–काठमाडौं उडान (आरए–४१८) पनि सफलतापूर्वक सम्पन्न भएको छ। सो उडानमा ७८ जना यात्रुहरु सवार थिए ।
निगमका अनुसार आगामी २३ अक्टोबर २०२५ को काठमाडौँ–ग्वाञ्जाओ उडानका लागि सबै सिट बुकिङ भइसकेको छ भने २४ अक्टोबरको ग्वाञ्जाओ–काठमाडौं उडानमा पनि पूर्ण यात्रुसहित उडान हुने विश्वास लिइएको छ।
निगमले नयाँ सेक्टरको बजार प्रवर्द्धनका लागि सम्पूर्ण ट्राभल एजेन्सी, सञ्चार माध्यम र सरोकारवाला निकायहरुलाई सहकार्यका लागि आह्वान गरेको छ । व्यावसायिक उडानलाई सफल बनाउन सबै पक्षबाट सहयोगको अपेक्षा निगमले व्यक्त गरेको छ ।
नेपाल वायुसेवा निगमका प्रवक्ता (प्रा) मनोज कुमार साह र प्रवक्ता सुवास डाँगीका अनुसार काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ गन्तव्य हालको व्यवस्थापनको नेतृत्वमा साउदी अरेबियाको दमामपछि सञ्चालनमा आएको नयाँ गन्तव्य हो।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८