
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री हितबहादुर तामाङले ६ महिनाभित्र निर्वाचन गर्ने मिति तोकेपनि वातावरण बनाउन नसकेको बताएका छन् ।
सामाजिक सञ्जालको निर्वाध सञ्चालन र भ्रष्टाचारको अन्त्य गर्नुपर्ने पवित्र उद्देश्य राखेर जेन–जीहरूले आन्दोलन गरेको हो, उनले भने ‘उनीहरूको मागलाई सरकारले नजरअन्दाज गरेको कारण विध्वंश भयो ।’
जेन–जी आन्दोलनले खासै उपलब्धि दिएन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भएको ठाउँमा अहिले सुशीला कार्की प्रधानमन्त्री बनेर आउनेभन्दा अर्को उपलब्धी देखिएन । आन्दोलन छोटो समयको बीचमा भयो । ठूलो धनराशी र जनशक्तिमा क्षति पुर्यायो । तर, उपलब्धी खासै भएको देखिँदैन, उनले भने ।
पुराना मन्त्रीहरू हटेका छन्, केही मन्त्रीहरू आउनुभएको छ । २०८४ सालमा गर्ने भनिएको आम निर्वाचनलाई २०८२ सालको फागुन २१ गते नै गर्ने भनिएको छ । त्यो भन्दा राजनीतिक परिवर्तन नभएको टिप्पणी नेता तामाङले गरे । अब माओवादी केन्द्रले निर्वाचनको विकल्प देखेको छैन । तर, सरकारले चुनाव निष्पक्ष हुने, नागरिकहरुले स्वतन्त्र ढंगले निर्वाचनमा भाग लिन पाउने र निर्वाचन शान्तिपूर्ण हुने कुरा नागरिक समाज र राजनीतिक दललाई विश्वास दिलाउन सक्नुपर्ने बताए ।
उनले भने, ‘चुनावको विकल्प त छैन, किनभने संसद् विघटन गरिसकिएको छ । संसद् नभएपछि तोकिएको मितिभित्र निर्वाचन नगरीकन हुँदैन । त्यसको निमित्त हामी जुनसुकै परिस्थितिको सामना गरेर, राज्यलाई जुनसुकै सहयोग गर्नुपर्छ भने पनि गरेर निर्वाचनमा जानुपर्छ भनेर माओवादी केन्द्रले भनिराखेको छ । तर, विश्वस्त वातावरण निर्माण खै ?
जेन–जीहरूले प्रश्न उठाइरहेका मान्छेहरुलाई कारबाहीको दायरामा नल्याइएको, अनुसन्धान पनि नभएको, सुरक्षाकर्मीहरूको हतियार खोसिएको, भागेका कैदीबन्दीलाई नियन्त्रणमा नलिइएको अवस्थामा निर्वाचन हुन्छ कि हुँदैन भन्ने संशय पैदा भएको उनले बताए ।
जेन–जीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी भनिराखेको र उक्त कुरा माओवादीले २० वर्ष पहिलादेखि भन्दै आएको पनि नेता तामाङले बताए । संसद्बाटै यो कुरालाई संवैधानिक हिसाबले हल गरेर संसद् भंग गर्नुपर्नेमा जेन–जीहरूको आन्दोलन हाइज्याक भएर हतारमा संसद् विघटन गरिएको हो’, उनले भने ।
नेता तामाङले प्रत्यक्ष निर्वाचित कार्यकारीको निमित्त गोलमेच सम्मेलन गरेर संसद् व्यूँत्याएर त्यसपछि संविधान संशोधन गर्नुपर्ने धारणा राखे ।
‘त्यसको निमित्त माओवादी केन्द्र तयार रहेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निमित्त संवैधानिक व्यवस्था गरेर बरु तुरुन्तै संसद् विघटन गर्ने एजेण्डाको सुनिश्चिततासहित गोलमेच सम्मेलनको आयोजना गर्ने हो भने त्यो राम्रो हुन्छ,’– उनले भने ।
नेता तामाङले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण जेन–जी आन्दोलन भएको, ७६ जनाले ज्यान गुमाएको र खर्बौंको क्षति भएको बताए । त्यही गल्तीको कारणले एमालेलाई अहिले जनताकोबीचमा जानलाई गाह्रो भइरहेको अवस्थामा निर्वाचनको विरोध गरिराखेको हो, उनले भने, ‘नेपाली कांग्रेसले पनि ओली नेतृत्वको सरकारमा गएर गल्ती गरेको छ ।’
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार रहिरहेको खण्डमा आरजु देउवा पनि थुनिने स्थिति आएपछि कांग्रेसले एमाले अध्यक्ष ओलीलाई साथ दिएर सरकार गठन गरेको उनको आरोप छ ।
‘भदौ २३ गतेको जेन–जी आन्दोलनमा २३ जना अवोध विद्यार्थीको हत्या भइसकेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता नलिएर ठूला गल्ती छ ।
यदि २३ गते कांग्रेसले समर्थन फिर्ता लिएको भए सबैभन्दा ठूला दल कांग्रेसको नेतृत्वमा सरकार बन्ने परिस्थिति सिर्जना हुनेमा केपी ओलीको ब्ल्याकमेलिङमा परेर शेरबहादुर देउवाले प्रधानमन्त्री हुने मौका गुमाएको उनले बताए ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८