
राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) को तेस्रो वार्षिक साधारण सभा विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ। २०८२ पुस ५ गते अध्यक्ष प्रदीप प्रसाद कोइरालाको अध्यक्षतामा आयोजित सो सभामा विज्ञापन क्षेत्रको व्यवसायिक सुरक्षा, नीतिगत चुनौती र भावी सांगठनिक संरचनाबारे विस्तृत छलफल भएको थियो।
सभालाई सम्बोधन गर्दै अध्यक्ष कोइरालाले संघ स्थापना भएदेखि नै मुलुकले विभिन्न प्राकृतिक विपत्ति, राजनीतिक अस्थिरता र बदलिँदो सामाजिक परिवेश (जेन्जी आन्दोलन) जस्ता समस्या झेल्नु परेकाले विज्ञापन व्यवसायमा प्रत्यक्ष असर परेको बताउनुभयो। यस्तो प्रतिकूल अवस्थामा पनि व्यवसाय टिकाइराख्नु प्रशंसनीय कार्य भएको भन्दै उहाँले व्यवसायीहरूलाई उच्च मनोबलका साथ अघि बढ्न हौसला प्रदान गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि एवं संस्थापक तथा निवर्तमान अध्यक्ष धर्मेन्द्र काजी श्रेष्ठले सरकारले विज्ञापन व्यवसायीहरूमाथि विभिन्न नीति-नियमका नाममा ‘लगाम’ लगाउन खोजेको भन्दै आपत्ति जनाउनुभयो। व्यवसायीको हकहितमा आँच आउने सरकारी कदमका विरुद्ध संघ कानुनी लडाइँ र मुद्धा मामिलाका लागि समेत तयार रहेको उहाँले बताउनु भयो।
सातै प्रदेशमा विस्तार गरिँदै
साधारण सभाले विधान संशोधन गर्दै संघलाई सातै प्रदेशमा विस्तार गर्ने महत्वपूर्ण निर्णय गरेको छ। संघका महासचिव विमल खड्का ले अब सातै प्रदेशमा कार्यालय स्थापना गरिने जानकारी दिनुभयो। सचिव नवराज निरौला ले विज्ञापन वजार झन प्रभावकारी वनाई विज्ञापन व्यवसायिको मनोवल उच्च राख्न महत्वपुर्ण भुमिका निर्वाह गरिने वताउनु भयो । हाल संस्थामा १०५ सदस्य आबद्ध रहेकोमा चालू आर्थिक वर्षभित्र सदस्य संख्या १५० पुऱ्याउने लक्ष्य लिइएको खड्काले बताउनुभयो।
सभामा कोषाध्यक्ष अरुण अर्यालले संस्थाको आर्थिक प्रतिवेदन (आय-व्यय) प्रस्तुत गर्नुभएको थियो। त्यस्तै, संघका प्रथम उपाध्यक्ष अमृत पन्थी र द्वितीय उपाध्यक्ष आशिष खड्काले विज्ञापन क्षेत्रलाई थप मर्यादित र व्यावसायिक बनाउनुपर्नेमा जोड दिँदै आ-आफ्नो मन्तव्य राख्नुभएको थियो।
विज्ञापन क्षेत्रलाई थप सशक्त बनाउन र आफ्ना कमी-कमजोरीहरू सुधार गर्दै अघि बढ्ने सामूहिक प्रतिबद्धताका साथ कार्यक्रम समापन भएको संघले जनाएको छ। आगामी दिनमा व्यवसायीको हक-हित संरक्षण, सीप विकास र संस्थागत सुदृढीकरणमा संघले सक्रिय भूमिका खेल्ने निर्णय समेत गरेको छ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८